सिनेमा ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक

0 Shares

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ। यस गीतमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतकार बाबुल गिरी पनि भिडियोमा देखिएका छन्।

संगीतकार बाबुल गिरीको संगीत र स्वर रहेको यो गीतको शब्द रचना गोविन्द भट्टले गरेका हुन्। ‘सिटामोल’को यस गीतबाट बाबुल गिरीले नेपाली रजतपटमा आफ्नो पहिलो प्रस्तुति दिएका छन्। यस गीतको सानो अंश पहिले नै सामाजिक सञ्जाल, फेसबुक र टिकटकमा हिट भएको थियो, जसपछि निर्माण टिमले पुरा गीत सार्वजनिक गरेको हो।

निर्माता र निर्देशकका अनुसार यो गीतले सिनेमाको हाइपलाई अझ बढी बढाउने विश्वास छ। यसअघि सार्वजनिक गीत र टिजरले राम्रो प्रतिक्रिया प्राप्त गरेका छन्।

‘सिटामोल’ सिनेमाले नेपाली समाजका परापुर्वकालदेखि चलेको कुसंस्कारको विरोध गर्दै त्यसको समस्यालाई उजागर गर्ने उद्देश्य राखेको छ। यस सिनेमाले जनजीवनका यस्ता संवेदनशील पक्षलाई उठान गर्दै दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

राज बहादुर साने निर्देशित ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी लगायतका कलाकारहरूको अभिनय छ।

सिनेमा ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक राज बहादुर सानेले लेखेका हुन्। सिनेमाको निर्माण तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा गरेको हो।

सम्बन्धित समाचार

सबै