सृजनाको जीवनको कथा र विवेकको बिदाइ ‘एक्टिङ स्टार’को मञ्चमा, बग्यो आँशुको धारा

0 Shares

लोकप्रिय रियालिटी शो ‘एक्टिङ स्टार’मा सृजना सुवेदी र विवेक पंगेनीको वास्तविक जीवन घटनामा आधारित एक प्रेरणादायी र मार्मिक प्रस्तुति देखाइएको छ। सृजनाका श्रीमान् विवेकलाई ब्रेन क्यान्सरको सामना गर्दा उनले देखाएको माया, समर्पण र त्यागलाई प्रतियोगी नविना रानाभाटले सशक्त अभिनयमार्फत जीवन्त बनाइन्।

नविनाले अभिनयमा दीपेश खत्री र अनुप भण्डारीसँग मिलेर प्रस्तुति गरेका थिए। विवेकको उपचारदेखि अन्तिम बिदाइसम्म सृजनाले देखाएको समर्पणले हजारौं दर्शकलाई भावुक बनाएको थियो। सोही भावनालाई नविनाले यति सजीव ढंगले प्रस्तुत गरिन् कि स्टुडियो नै स्तब्ध बन्यो। विशेषगरी अन्तिम दृश्यमा उनले विवेकलाई अन्तिम बिदाइ दिँदै गरेको क्षणलाई जसरी प्रस्तुत गरिन्, त्यसले सेटमा उपस्थित सबैलाई रोइरहन बाध्य बनायो। केही समय छायांकन रोक्नु परेको जानकारी प्राप्त भएको छ।

यस प्रस्तुति अघि नविनालाई सृजना सुवेदीसँग प्रत्यक्ष भेट गराइयो। सो भेटका क्रममा सृजनाले सम्पूर्ण घटनाक्रम सुनाउँदै आफ्नो पीडादायक तर प्रेरणादायी कथालाई सार्वजनिकरूपमा प्रस्तुत गर्न अनुमति दिएकी थिइन्।

‘एक्टिङ स्टार’ले यस्ता यथार्थपरक जीवनकथाहरूलाई मञ्चमा ल्याउँदै गर्दा नेपाली टेलिभिजनमा वास्तविकता र संवेदनशीलताको नयाँ युगको सुरुआत गरेको देखिन्छ।

महक मिडिया नेटवर्कका अनुसार, ‘एक्टिङ स्टार’मा नेपालका हिमाल, पहाड, तराई क्षेत्रका साथै भारतका सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल र मुम्बईबाट हजार भन्दा धेरै प्रतियोगीहरूले अडिसन दिएका थिए। छनोट प्रक्रिया पश्चात १३ जना उत्कृष्ट प्रतिस्पर्धी अहिले फाइनल चरणमा प्रवेश गरिसकेका छन्।

शो प्रत्येक हप्ता बुधबार र बिहीबार राति ९ बजे एपिवान एचडी टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रशारण भइरहेको छ।

नेपाल भित्रबाट भोट गर्न ‘ओएसआर कनेक्ट’ एप डाउनलोड गरी ‘एक्टिङ स्टार’मा क्लिक गरेर मनपर्ने कलाकारलाई भोट गर्न सकिन्छ। विदेशबाट भोट गर्न ‘सिनेमाघर’ एप प्रयोग गर्न सकिनेछ।

विजेताले नगद २० लाख रुपैयाँसहित चलचित्रमा अवसर प्राप्त गर्नेछन्। पहिलो रनरअपले १० लाख र दोस्रो रनरअपले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

‘पहिलो एक्टिङ स्टार को हुने?’ अब यो निर्णय दर्शककै हातमा छ, महक मिडिया नेटवर्कले जानकारी दिएको छ।

सम्बन्धित समाचार

सबै