‘मिस युनिभर्स नेपाल’लाई प्रधानमन्त्रीले शुभकामना दिँदै भने, ‘यो नेपालको ब्युटी चिनाउने अवसर हो’

0 Shares

सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ का लागि प्रधानमन्त्री केपी शर्मा ओली ले शुभकामना दिएका छन्। अहिले पूर्वका विभिन्न स्थानमा अडिसन भइरहेको मिस युनिभर्स नेपाल प्रतियोगितामा सहभागी सबैलाई प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना र समर्थन व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले भने, “नेपाल र मुलुकको सौन्दर्य चिनाउने यो सौन्दर्य प्रतियोगिता निकै उपयोगी हुने विश्वास लिएको छु।” केही दिनअघि भद्रपुर विमानस्थलमा उनले प्रतियोगिताका आयोजकलाई भेटेर शुभकामना दिएका थिए। सो भेटको क्रममा आयोजक संस्था ‘ग्लोबल ग्ल्यामर भेन्चर’की संगीता पुरी, मिस युनिभर्स २०२४ विजेता सम्पदा घिमिरे लगायतको टिम पनि उपस्थित थियो।

प्रधानमन्त्री ओलीले थपे, “अन्तर्राष्ट्रिय स्तरको मिस युनिभर्स प्रतियोगिताको अडिसन दमकमा आयोजना भइरहेको थाहा पाउँदा खुसी लागिरहेको छ। नेपाललाई चिनाउने, नेपालको ब्युटी चिनाउने, नेपालको ट्यालेन्ट चिनाउने अवसर हो। यस अवसरलाई हाम्रा चेलीहरूले राम्रोसँग सदुपयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।”

यसै बीच, मिस युनिभर्स नेपाल २०२५ का अडिसनहरू झापाको दमक र विराटनगरमा सम्पन्न भइसकेका छन्। आयोजकले जानकारी दिएका अनुसार, पूर्वका यी दुई स्थानमा ४० जना प्रतिस्पर्धीले अडिसन दिएका छन्, र अब चितवन, पोखरा, बुटवल लगायतका ठाउँमा अडिसनको तयारी भइरहेको छ।

सम्बन्धित समाचार

सबै