
छायाँछवि क्रियशनले हरेक वर्ष झैँ यस वर्ष पनि ‘छायाँछवि तीज म्यूजिक अवार्ड’ आयोजना गर्ने भएको छ। हिन्दू नारीहरूको महान् चाड तीजको अवसर पारेर आयोजना गरिँदै आएको यो अवार्डको यसपटक १२औं संस्करण हुन लागेको हो।
छायाँछविका अध्यक्ष शान्तिप्रियका अनुसार तीज गीतमा संलग्न स्रष्टाहरूलाई सम्मान र प्रोत्साहन दिने उद्देश्यले यो अवार्ड सुरु गरिएको हो। उनका अनुसार यस वर्षका लागि २५ विधामा पुरस्कार प्रदान गरिनेछ।
तीज पर्वमा महिलाहरूले गीतमार्फत मनका भावना, पीडा, आशा र खुशी अभिव्यक्त गर्ने परम्परा छ। पहिले घरेलु पीडामा आधारित गीतहरू बढी चलनमा भए पनि हालका तीज गीतहरूमा विविधता आएको छ। आधुनिक दोहोरी शैलीमा पुरुष गायकरू पनि सक्रिय भइरहेका छन्।
छायाँछविले साउन महिनाभरि गीत दर्ता खुला गरेको छ। इच्छुक कलाकारहरूले डिल्लीबजारस्थित छायाँछवि कार्यालयमा वा इमेलमार्फत आफ्ना तीज गीतहरू दर्ता गराउन सक्नेछन्।