आउँदो वडादसैँको फूलपातीको अवसरमा प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘बलिदान’ को ६० फिट अग्लो विशाल पोस्टर सार्वजनिक गरिएको छ। गोगंबु बसपार्कस्थित ल्होत्से मलको बाहिरी पर्खालमा बिहीबार राखिएको यो पोस्टरले दर्शकको व्यापक ध्यान तानिरहेको छ।
पोस्टरमा अभिनेता समीर भट्टलाई घाइते र रगतले लतपतिएको अवस्थामा, एक विशालकाय मानव आकृतिमाथि आक्रामक मुद्रामा देखाइएको छ। उनले प्रयोग गरेको भालाजस्तो देखिने हतियार, कालो बादल, आगो र अन्धकारपूर्ण वातावरणले फिल्मको गहिरो देशभक्तिपूर्ण द्वन्द्वलाई चित्रण गरेको छ।
निर्देशक सन्तोष सेनले यो चलचित्रलाई “सिनेम्याटिक क्रान्तिको सुरुवात” भन्दै, बलिदान केवल चलचित्र नभई एउटा अभियान — ‘यो ज्यान बलिदान’ भएको बताएका छन्।
उनका अनुसार, फिल्मले आत्मबल, मौलिक कथा र सशक्त प्रस्तुतीकरणका आधारमा विदेशी फिल्महरूको भीडमा छुट्टै पहिचान बनाउन खोजेको छ। गाउँ–सहर, टोल–बस्ती हुँदै फिल्मलाई देशभर पुर्याउने उद्देश्यले ‘बलिदान ब्यानर’ मार्फत देशव्यापी प्रचार–प्रसार अभियान सुरु गरिएको छ।
यसअघि, सौगात मल्लको रहस्यमय लुक्स, समीर भट्टको प्रि–टिजर, कविता रायसहित कलाकारहरूको पात्रपरिचय पोस्टरहरू सार्वजनिक भइसकेका छन्, जसले दर्शकको उल्लेखनीय उत्साह बटुलेका छन्।
‘आसुसेन फिल्म्स् प्रा.लि.’ को ब्यानरमा निर्माण भएको ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, कविता राय, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।