आउँदो श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको ट्रेलरले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको संघर्ष, पीडा र यथार्थ कथा प्रस्तुत गरेको छ।
ट्रेलरमा देखाइएका केही दृश्यहरू हृदयविदारक छन्। ती दृश्यहरूले आतङ्ककारीद्वारा कब्जामा पारिएका नेपाली कामदारहरूको स्थिति, बन्धक बनाइएका अवस्थाको झल्को दिन्छन्। अभिनेता प्रमोद चौलागाईंले कब्जामा रहेका बेला नेपालमा पठाएको भिडियो सन्देश टेलिभिजनमार्फत प्रसारण भइरहेको दृश्य ट्रेलरको एक मुख्य आकर्षण हो।
ट्रेलर सार्वजनिक भएपछि निर्देशक विभोर पोखरेलले फिल्मलाई “हरेक नेपालीको कथा” भन्दै, वैदेशिक रोजगारीमा भोगिने कष्टकर यथार्थलाई नजिकबाट देखाउने प्रयास गरिएको बताए।
‘रियाल रिङ्गेट’ शीर्षक नै प्रतीकात्मक छ — ‘रियाल’ (कतार, साउदी) र ‘रिङ्गेट’ (मलेसिया) का मुद्रा मिलाएर बनाइएको नाम, जसले नेपाली श्रमिकका प्रमुख गन्तव्यहरूलाई संकेत गर्छ।
चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायत कलाकारको अभिनय रहेको छ।
प्रदीप भारद्वाजको लेखनमा बनेको यो फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ।
गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर, चन्दन ध्वज केसीको सङ्गीत रहेको छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले, जुनू रिजाल काफ्लेको स्वर रहेको छ।
गीतका शब्द अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन्।
चलचित्रको छायाङ्कन भारतको राजस्थान, र नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको हो। फिल्मको वितरण काफिया फिल्म्सले गर्नेछ।