पछिल्लो समय नेपाली फिल्म उद्योगमा नयाँ फिल्म निर्माणको गति तीव्र हुँदै गएको छ। यही क्रममा निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने नयाँ कमेडी फिल्म ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ।
फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले यसको औपचारिक घोषणा गरेको हो। पोस्टरमा एउटा गाडी हिलोबाटोमा अड्किएको देखिन्छ, जसलाई बाटो बनाउँदै गरेको एक व्यक्तिले सहयोग गरिरहेको दृश्य छ। यसले ग्रामीण परिवेश झल्काउने संकेत दिएको छ।
फिल्मको कथा, पटकथा र संवाद विनय राज पौडेलले तयार पारेका हुन्। ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा हेमन्त बस्नेतको लगानी रहनेछ भने, इश्वर वल्लव उप्रेती कार्यकारी निर्माता हुनेछन्।
निर्देशक बस्नेतका अनुसार फिल्मको छायांकन छिट्टै सुरु हुनेछ। कलाकारको टुंगो अझै लागिनसकेको भए पनि छनोट प्रक्रिया जारी रहेको निर्माण टिमले जनाएको छ।
कमेडी विधामा आधारित ‘किस्ने कहाँ छ ?’ ले नेपाली समाजको गहिरो चित्रण गर्ने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपाली फिल्महरूमा बढ्दो कमेडी ट्रेन्डलाई यस फिल्मले थप अगाडि बढाउने विश्वास लिइएको छ।