
नेपाली–अमेरिकी गायक, संगीतकार तथा निर्माता अनिस ‘ओकिली’ सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन्। ओकिलीले गीतको शब्द, संगीत तथा स्वर स्वयं दिएका छन् भने भिडियोमा पनि आफैं अभिनय गरेका छन्।
‘मेरी ओकिली…’, ‘झ्याबाट हेर…’ जस्ता गीतमार्फत ९० को दशकमा चर्चामा आएका ओकिलीले अमेरिकामा रहँदै नेपाली संगीतमा निरन्तरता दिँदै आएका छन्। उनले आफूले कहिल्यै नेपाली संगीतबाट टाढा नएको बताउँदै, “यसपटक भिडियोमा आफैं देखिनु मेरो लागि विशेष अनुभव रह्यो,” भने।
पप/सफ्ट रक शैलीको यस गीतमा प्रेमको काल्पनिक संसारको वर्णन गरिएको छ। भिडियोमा ओकिलीसँग एरिशा श्रेष्ठले मोडलको रूपमा अभिनय गरेकी छन्। भिडियो गायक तथा संगीतकार जेम्स प्रधानले निर्देशन गरेका हुन्। छायांकनदेखि सम्पादन, रङ संयोजनसम्म प्रधानले नै गरेका छन्।
अमेरिकाको रमणीय स्थानमा छायांकन गरिएको म्युजिक भिडियोले दर्शकको मन जित्ने विश्वास ओकिलीले व्यक्त गरे। “गीतको भावअनुसार म आफैं अगाडि आएको हुँ, यसमा प्रेमभाव प्रस्ट देखिन्छ,” उनले भने।
यसअघि ‘रिदम काठमाडौं’ एल्बम ल्याएका ओकिलीले यसपटक सिंगल ट्रयाकमा ध्यान केन्द्रित गरेका छन्। जेनरिक्सको एरेन्जमेन्टमा तयार भएको उक्त गीत ओकिलीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
१९९० को दशकमा ‘ओकिली’ ब्यान्डको संस्थापकका रूपमा संगीत यात्रा सुरु गरेका ओकिली ‘गुलाबी जाडो’, ‘जुनेली रात’, ‘तिमी नै राम्री’, ‘सिमला भुवा’ जस्ता हिट गीतमार्फत दर्शकमाझ चिनिएका छन्।
हाल अमेरिकाको क्यालिफोर्नियास्थित स्याक्रामेन्टोमा बसोबास गर्दै आएका उनी आधुनिक पप संगीत र भावनात्मक कथावस्तुको संयोजनमा परिचित छन्। उनले नोबेल विजेता डा. चार्ल्स टाउन्सबाट ‘युथ अचिभमेन्ट अवार्ड’ समेत प्राप्त गरेका छन्।