‘होस्टेल ३’को समूहबाटै ‘होस्टेल अगेन’ घोषणा, यसपटक थ्रिलर कथा

0 Shares

नेपाली फिल्म उद्योगमा नयाँ पुस्ताका कलाकारलाई स्थापित गर्न सफल ‘होस्टेल’ श्रृंखलाको निर्माण समूहले नयाँ फिल्म ‘होस्टेल अगेन’ घोषणा गरेको छ। हालै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको मिनिमल पोस्टर मार्फत फिल्मको स्वरूपबारे संकेत गरिएको छ।

पोस्टरमा रगताम्य चक्कुले गुलाबको फूल थिचिरहेको दृश्य देखिएको छ, जसले प्रेम र हिंसाको मिश्रण हुने कथा प्रस्तुत गर्ने संकेत गर्दछ। ‘होस्टेल अगेन’ शीर्षकले यसलाई पुरानो सिरिजसँग सम्बन्धित भए पनि पूर्ण रूपमा नयाँ कथामा आधारित थ्रिलर हुने अनुमान गर्न सकिन्छ।

‘होस्टेल ३’बाट निर्देशकको रूपमा डेब्यु गरेका सशान कँडेल, लेखक माधव शर्मा, निर्माण कम्पनीहरू सम्मान इन्टरटेन्मेन्ट र आरोन कन फिल्म्स तथा कार्यकारी निर्माता शंकर कोइराला यसपटक पनि दोहोरिएका छन्।

स्मरणीय छ, ‘होस्टेल ३’ ले सिनेमा हलमा ५१ दिनको प्रदर्शन गरी बक्स अफिसमा राम्रो सफलता हात पारेको थियो। फिल्मले नयाँ कलाकारहरू — पारस बम, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, र सन्तोष बानियाँ लगायत — लाई दर्शकमाझ चिनाएको थियो।

‘होस्टेल अगेन’ मार्फत पनि नयाँ प्रतिभालाई अवसर दिइने अपेक्षा गरिएको छ। ‘होस्टेल’ श्रृंखलाको पहिलो भाग सन् २०१३ (वि.सं. २०७०) मा हेमराज बिसीको निर्देशनमा र दोस्रो भाग ‘होस्टेल रिटर्न्स’ २०७२ मा सुरज भुसालको निर्देशनमा आएको थियो।

‘होस्टेल अगेन’ को छायांकन चाँडै सुरु हुने निर्माणपक्षले जनाएको छ। यसै समूहले यसअघि घोषणा गरेको ‘बाउ भर्सेस छोरा’ भने कलाकारहरूको व्यस्तताका कारण अर्को वर्षका लागि सारिएको निर्देशक कँडेलले बताएका छन्।

सम्बन्धित समाचार

सबै