आगामी भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘माग्ने राजा’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच फिल्ममा समावेश दोस्रो गीत ‘म त सुतेर उठेको पैसामा’ सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड छन्।
संगीतकार बाबुल गिरीको स्वर रहेको गीतको संगीत, शब्द रचना तथा एरेञ्ज समेत स्वयं बाबुलकै रहेको छ। उनलाई चाइल्ड भर्सनमा फिल्मका कलाकारसमेत रहेका रोनिश खड्काले गायनमा साथ दिएका छन्। गम्भीर बिष्टको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडियो उत्कृष्ट देखिन्छ। यो गीत सामाजिक सञ्जाल टिकटक तथा फेसबुक रिल्समा भाइरल हुने सहज अनुमान गर्न सकिन्छ। गीतमा समावेश शब्दले दर्शकलाई सहजै आफू तर्फ आकर्षण गर्न सक्छन्।
फिल्मलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन्। यस फिल्मबाट उनले करिब ८ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। फिल्मका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन्। ‘इच्छा’ रिलिजको लामो समयपछि उनी फिल्म निर्माणमा फर्किएका हुन्। निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षसमेत हुन्।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटक मोडल पवित्रा साकी (उर्फ मिस पबी) को अभिनय रहेको छ। नरेन्द्र मैनालीले खिचेको फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ। आरआर फिल्म्सले वितरण गर्ने फिल्ममा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा तथा बाबुल गिरीको संगीत रहेको छ।
रिलिज लगत्ते गीतले सामाजिक संजाल टिकटकमा २४ घण्टा नबित्तदै पकड बनाउन थालेको देखिएको छ । गीत रिलिज भएको आधिकारिक च्यानल ओएसआरको टिकटक एकाउन्टमा गीतका भिडियो क्लिप्सहरुले मिलियन बढिको भ्यूज पार गर्ने सिलसिला सुरु भइसकेको छ ।
यस्तै यू्ट्यूबमा यो गीतलाई हालसम्म ५ लाख ७८ हजार बढिको भ्यूज प्राप्त भइसकेको छ भने कमेन्टहरु पनि सकारात्मक रहेका छन् ।
शब्द र क्याची मेलोडीका कारण यो गीतले राम्रै लोकप्रियता पाउने अनुमान गर्नसकिन्छ ।