
गायिका कविता अर्यालको तीज गीत ‘श्रीमानज्यू’ विमोचन गरिएको छ। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा नारी सशक्तिकरणको भाव बोकेको गीतको एक औपचारिक कार्यक्रमका बीच विमोचन गरिएको हो।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमको अध्यक्षतामा तथा विशिष्ट गायक, संगीतकार एवं फिल्म निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा उक्त गीत सार्वजनिक गरिएको थियो।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष बद्री पंगेनी, वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, लोकप्रिय मोडल तथा निर्देशक शंकर बिसी, संस्थापक अध्यक्ष गोविन्द गिरी, निर्वतमान अध्यक्ष हरिबल्लभ नेपाललगायतको आतिथ्यता रहेको थियो।
विमोचन समारोहमा बोल्दै प्रमुख अतिथि नारायण रायमाझीले पछिल्लो समय तीजका अवसरमा भड्किला गीतहरूले चर्चा कमाइरहेको अवस्थामा मौलिक गीत सार्वजनिक भएकोमा खुसी व्यक्त गरे। उनले भने, “कुनै एक व्यक्ति वा संस्थाले मात्र सांगीतिक क्षेत्रमा भएको विकृति हटाउन सक्दैन। त्यसका लागि प्रत्येक कलाकारले आफैंलाई सेन्सर गर्नु पर्छ।”
त्यस्तै, विशिष्ट अतिथि गायक पशुपति शर्माले आजका श्रीमतीहरूलाई घरमै सीमित नराखी करिअर निर्माणका लागि श्रीमानहरूले उत्प्रेरित गर्नु पर्ने धारणा राखे।
गायक बद्री पंगेनीले गीत–संगीतमा देखिएको विकृतिले सांगीतिक क्षेत्रलाई धुमिल बनाउने भएकाले फिल्मजस्तै सेन्सरसिपको आवश्यकता रहेको बताए। उनले कविता अर्यालको सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै मौलिक गीत सार्वजनिक गरेकोमा बधाई दिए। पंगेनीले भने, “गीतको शब्दले सम्पूर्ण तीजको मौलिकता र मर्म समेटेको छ। भिडियोले पनि भाव अनुसार प्रस्तुत गर्न सफल देखिन्छ।”
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले संस्थाले स्थापना कालदेखि वर्तमानसम्म सामना गरेका चुनौती र सक्रियताको चर्चा गरे। गीतहरू व्यावसायिकतामा बढी केन्द्रित हुँदा विकृति आउने र त्यसलाई स्रष्टाले नै नियन्त्रण गर्नुपर्ने धारणा राखे।
सार्वजनिक गीतका निर्देशक शंकर बिसीले मौलिकता प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गरे। गीतकार तथा संगीतकार रमेश परियारले मौलिक गीतमार्फत यस्तो टिमसँग जोडिन पाएकोमा सन्तोष व्यक्त गरे।
त्यस्तै, गायिका कविता अर्यालले आफूले सधैं मौलिकता ध्यानमा राखेर सिर्जना सार्वजनिक गर्दै आएको बताइन्। लोक–संस्कृतिमा आधारित सञ्चारमा सक्रिय संस्थाको कार्यक्रममार्फत गीत विमोचन गर्न पाउनु ठूलो अवसर भएको भन्दै, आफूलाई कलाकार बन्न प्रेरित गरिदिएकोमा गायक बद्री पंगेनीलाई धन्यवाद दिइन्।
समारोहका सभापति चन्द्रमणि गौतमले विगतमा तीज गीतमा चेलीको वेदना झल्किने गरे पनि अहिले उत्ताउला गीतलाई तीज गीतका रूपमा प्रयोग गरिएको भन्दै त्यसलाई निरुत्साहित गर्न स्रष्टाहरूलाई अनुरोध गरे। मौलिक संस्कृति बिगार्ने गीतहरूबारे गृह मन्त्रालय र साइबर ब्युरोसम्म पुग्नुपर्ने बाध्यता रहेको कुरा पनि उनले सुनाए।
कार्यक्रम सञ्चालक सचिव कमल सरगम चौलागाईं थिए भने महिला विभाग प्रमुख सविता पोखरेलले स्वागत मन्तव्य राखेकी थिइन्।
सार्वजनिक गीत ‘श्रीमानज्यू’ गायिकाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। कविता अर्यालको स्वर रहेको गीतमा रमेश परियारको शब्द र संगीत रहेको छ। कृष्ण केसीले संगीत संयोजन, खडक बाजुरालीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। शंकर बिसीको निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियोमा लोसिना लामिछाने फिचर्ड छिन्। दुर्गा पौडेलको छायांकन र नविन घर्तीको सम्पादन रहेको छ।
सोही समारोहमा आयोजक संस्थाका उपाध्यक्ष हरि दुलालको जन्मदिनको उपलक्ष्यमा केक काटेर खुशीयाली मनाइएको थियो। उपाध्यक्ष दुलालले संस्थाको कल्याणकारी कोषका लागि ११,१११ रुपैयाँ सहयोग गरेका थिए।