
गायिका भावना आचार्यले झण्डै एक वर्षको अन्तरालपछि तीज गीत सार्वजनिक गरेकी छिन् । आफ्नै युट्युब च्यानल ‘भावना आचार्य’ मार्फत सोमबार दर्शकमाझ ल्याइएको ‘सोच सोच केटी’ मा भावनालाई गायनमा चर्चित गायक रामचन्द्र काफ्लेले साथ दिएका छन् ।
यसअघि ‘बग्ने खोला बगी गो’, ‘बग्ने खोला–२’, ‘माया बस्ला फेरि’ लगायतका चर्चित गीतकी गायिका भावनाको यो तीज गीतको शब्द र संगीत पनि उनी स्वयंको हो ।
नितिन चन्दले निर्देशन गरेको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, गायिका भावना स्वयं, राजन अधिकारी, अमृत आचार्य र नवीन किशोर फिचर छन् । सुरेन बसेलले कोरियोग्राफी गरेको भिडियो विनोद बिष्टले खिचेका हुन् भने सम्पादन शौखिन तिमिल्सिनाले गरेका छन् ।
प्रेम तथा वैवाहिक सम्बन्धको विषयमा पुरुष–महिला दुवैलाई सचेत गराउने खालको शब्द र भाव रहेको गीतको भिडियो रमाइलो बनेको छ । गीतले क्रमशः दर्शक–श्रोताको मन जित्दै गएको छ ।