चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ को मोसन टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले मङ्गलबार एक सस्पेन्सपूर्ण टिजर सार्वजनिक गर्दै फिल्मको कथावस्तुप्रति चासो बढाएको छ।
टिजरको सुरुआत मोरङ जिल्ला कारागारअगाडि एक व्यक्तिले चुरोट सल्काउँदै गरेको दृश्यबाट हुन्छ। त्यसपछि उनले एक सिक्का टस गर्छन्, जुन चक्रको केन्द्रमा पुगेर रोकिन्छ। त्यहीँ पजल देखिन्छ, जसमा क्रमशः चक्कु, पहेँलो बस्त्र लगाएका चार व्यक्ति, आगो, र व्यागबाट उडिरहेका नोटहरू देखिन्छन्।
टिजरले पैसाको लोभ, षड्यन्त्र र संघर्षको संकेत गर्छ।
चलचित्र भदौ २७ गते नेपाली भाषामा प्रदर्शन हुनेछ भने हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा वर्ल्डवाइड रिलिज गरिनेछ।
निर्माताका अनुसार फिल्मले पैसाको प्रलोभनमा परेर चक्रव्यूहमा फसेको एक पात्र र त्यहाँबाट उम्किन खोज्ने उसको संघर्षको कथा प्रस्तुत गर्छ।
सुशान्त गौतमको निर्देशनमा तयार भएको यो चलचित्र उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखनमा आधारित यस चलचित्रका क्रिएटिभ निर्देशक मदन थापा हुन्।
मुख्य कलाकारहरूमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला छन्।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।
चलचित्रका अन्य प्राविधिक टोलीमा जीवन शाक्य (लाइन प्रोड्युसर), आकाश उखेडा (मुख्य सह–निर्देशक), मदन घिमिरे (सम्पादक), सरोज श्रेष्ठ (निर्माण नियन्त्रक) र शरद महतो (डिओपी) रहेका छन्।