आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक फिल्मको ३ मिनेट २० सेकेण्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यङ्ग्यले भरिएको ट्रेलरले ‘सिटामोल’प्रति दर्शकको चासो बढाएको छ।
फिल्मको सार्वजनिक ट्रेलरका सुरुका दृश्यहरूमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरवाहीलाई हास्य व्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको छ। मुख्य पात्रहरू गाउँले परिवेशमा देखिन्छन्, जहाँ मानिसले सामान्य समस्या समाधानका लागि पनि धेरै दुःख पाइरहेका देखिन्छ।
फिल्ममा सामाजिक सन्देशलाई हास्यरसको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ, जसले दर्शकलाई हँसाउँदै सोच्न पनि बाध्य पार्ने संकेत ट्रेलरले दिएको छ। पात्रहरूले बोलेका संवाद, तिखा कटाक्ष र सरल तर गम्भीर प्रसंगहरूले ट्रेलरलाई प्रभावशाली बनाएको छ। ट्रेलरमा सौगात मल्ल र बेनिशा हमालको अनुभवी कलाकारको दमदार अभिनय झल्किन्छ। उनीहरूको सहज अभिनयले ट्रेलरलाई अझ आकर्षक बनाएको छ।
यो फिल्मको निर्देशन पक्षबाट सशक्त व्यङ्ग्य शैली अपनाइएको छ भने, सम्पादन र सिनेमाटोग्राफीले ग्रामीण परिवेशलाई राम्रोसँग उतारेको देखिन्छ। ‘सिटामोल’ नेपाली समाजका दुःख–पिर, विडम्बना र भ्रष्ट प्रणालीप्रतिको कटाक्ष हो। ट्रेलरले देखाएअनुसार फिल्मले कमेडी मात्र होइन, गहिरो सन्देश पनि दिन खोजेको देखिन्छ।
राज बहादुर साने निर्देशित फिल्ममा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ। श्रीकृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुतिमा रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन्।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइन मुकेश शाह, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेका फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन्।