‘सिटामोल’ ट्रेलरले दर्शकमाझ बढायो उत्साह

0 Shares

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘सिटामोल’को ट्रेलर हालै सार्वजनिक भएको छ, जसले दर्शकमाझ गहिरो प्रभाव छाडेको छ। सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक र बाल कलाकार करण नेपालीको दमदार अभिनय झल्किने ट्रेलरले पारिवारिक कथा, सामाजिक यथार्थ र व्यक्तिगत संघर्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

गाउँको परिवेश, पुराना मूल्य र आधुनिक सोचबीचको द्वन्द्व ट्रेलरमा स्पष्ट देखिन्छ। सौगात मल्ल एक संवेदनशील तर विद्रोही पात्रका रूपमा देखिन्छन् भने बेनिशा हमाल आत्मविश्वासी महिलाको भूमिकामा प्रभावशाली देखिन्छिन्।

स्वास्थ्य, गरिबी, महिला सशक्तीकरण र सामाजिक विभाजनजस्ता गम्भीर मुद्दा उठान गरिएको ट्रेलरमा ‘सिटामोल’ औषधिमात्र होइन, पीडाको प्रतीकजस्तै देखिन्छ। छायांकन, संवाद, सम्पादन र पृष्ठभूमि संगीत उत्कृष्ट देखिन्छ।

हालसम्म ट्रेलरलाई तीन लाख ७६ हजारभन्दा बढी दर्शकले हेरिसकेका छन्। अधिकांश दर्शकले सौगात र बेनिशाको अभिनय, गम्भीर सामाजिक सन्देश, सशक्त संवाद र व्याकग्राउण्ड म्युजिकको प्रशंसा गरेका छन्।

गत वर्षको ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’ पछि अर्को भावनात्मक फिल्मको रुपमा ‘सिटामोल’ प्रतीक्षा गरिएको छ। यदि पर्दामा पनि ट्रेलरमा देखिएको गहिराइ कायम गर्न सक्यो भने यो फिल्म एक अविस्मरणीय बन्नेछ।

राज बहादुर साने निर्देशित फिल्ममा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल लगायतको अभिनय छ। श्रीकृष्ण र जानुकाले यही फिल्मबाट डेब्यु गरेका हुन्।

फिल्म तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्म्सको सहकार्यमा बनेको हो। कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा निर्माता भुगोल कार्की र विकास राज जोशी हुन्।

संगीत बाबुल गिरी, सम्पादन बन्दे प्रसाद, कोरियोग्राफी कविराज गहतराज, छायांकन दिव्य सुवेदी र साउण्ड डिजाईन मुकेश शाहको रहेको छ।

सम्बन्धित समाचार

सबै