साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको नेपाली चलचित्र **‘द ब्ल्यू लाइट’**को पहिलो झलक सार्वजनिक गरिएको छ। मुख्य अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पोस्टरसहित पहिलो झलक रिलिज गरेको हो।
मंसिर १२ गते रिलिज हुने फिल्मको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन्। कथावाचन बुबा-छोरी संवादबाट सुरु हुन्छ, जहाँ छोरीले बुवालाई सपनामा मृत्यु देखेको कुरा सुनाउँछिन्। बुबाले ‘सपनामा मरेको देखेपछि त्यो मान्छे लामो समय बाँच्छ’ भन्दै छोरीलाई ढाडस दिन्छन्।
त्यसपछि कमजोर महसुस गरिरहेकी युवती हातमा हतियार बोकेर डर हटाउन खोजिरहेकी दृश्य देखिन्छ। एक युवतीले कानमा चाल सुन्दैछिन् भने अर्कीले हातमा रगतले लतपतिएको बन्चरो समातेकी छन् — जुन दृश्यले दर्शकलाई तनाव र डरको अनुभव गराउँछ।
पहिलो झलकमा बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठलाई निलो पृष्ठभूमिमा प्रस्तुत गरिएको छ। सृष्टिको हातमा देखिएको रगताम्य बन्चरोलाई लिएर दर्शकले उनी कसैमाथि हमला गरिसकेकी छन् भन्ने अनुमान लगाएका छन्।
फिल्मलाई **बलिराम चौहान (ग्याट्स्वी)**ले निर्देशन गरेका हुन्, जसको यो निर्देशकको रूपमा डेब्यु फिल्म हो। उनी चर्चित फिल्म *‘बलिदान’*का लेखक तथा मुख्य सहायक निर्देशक पनि हुन्।
स्काइफल पिक्चर्सको ब्यानरमा बनेको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायत कलाकारको अभिनय छ। बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन्।
निर्माता बलिराम चौहान, सह-निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन्। कार्यकारी निर्माताको रूपमा नरेन्द्र मैनाली र बेनिशा हमाल छन्। छायांकन मैनालीले नै गरेका हुन्।
निर्देशक चौहानले फिल्मको कथा र पात्रहरूको विवरण क्रमशः सार्वजनिक गरिने जानकारी दिएका छन्।