
सार्वजनिक भएको केही दिनमै २१ लाखभन्दा बढी दर्शकले हेरेको ‘म त सुतेर उठेको पैसामा’ गीतले दर्शकलाई न केवल रमाइलो गराएको छ, माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ अवतारमा देखाउने कुरा पनि पक्का भएको छ।
निर्देशक ऋषि लामिछानेका अनुसार, सिनेमा ‘माग्ने राजा’को कथा यही गीतको फेन्टासीमा आधारित छ र माग्ने पात्र सिनेमाको केन्द्रमा रहनेछ।
“टिजर र पहिलो गीतमा हामीले केदार घिमिरेलाई पुरानै शैलीमा प्रस्तुत गर्यौँ, जसले केही दर्शकलाई सिनेमा पुन: त्यही ढर्राको त होइन भन्ने शंका गरायो। तर, अहिलेको गीतले त्यो भ्रम तोडेको छ,” निर्देशक लामिछानेले भने। उनले कमेडीलाई सिनेमाको मूल शैली भए पनि यसले समसामयिक विषयवस्तुलाई पनि उठाउने बताए।
निर्माता मुनाल घिमिरेले सस्तो हाँसोको प्रयोग नगरी सामाजिक सन्देश दिन खोजिएको स्पष्ट पारेका छन्। “सिनेमामा हाँसो त छ तर त्यसको साथसाथै समस्याको समाधान पनि प्रस्ताव गरिएको छ,” उनले बताए।
‘माग्ने राजा’ भदौ ६ गते प्रदर्शनमा आउँदैछ।
मुनाल घिमिरेको निर्माण, ऋषि लामिछानेको निर्देशन, र सामीप्य राज तिमल्सेनाको लेखनमा बनेको फिल्ममा केदार घिमिरे, विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङ्देल, शारदा गिरी लगायतको अभिनय छ। सिनेमामा नरेन्द्र मैनालीको छायांकन, मित्र गुरुङको सम्पादन, र दीपक शर्मा तथा बाबुल गिरीको संगीत रहेको छ।