
नेपाली संगीत क्षेत्रमा झण्डै एक दशकको विश्रामपछि गायक रोदित सिंह भण्डारी पुनः सक्रिय भएका छन्। उनले आफ्नो नयाँ गीत ‘लग्यौ मेरो दिल चोरी’ सार्वजनिक गर्दै औपचारिक पुनरागमन गरेका हुन्। गीतमा उनलाई गायिका अभिग्य घिमिरेले साथ दिएकी छन्।
सुपरहिट फिल्म ‘ड्रिम्स’को गीत ‘तिमी सामु…’ बाट चर्चा कमाएका भण्डारीले त्यसपछि लामो समय विश्राम लिएका थिए। ‘लग्यौ मेरो दिल चोरी’ गीतलाई उनले विशेष अवसर पारेर सार्वजनिक गरेका हुन्। गीतको भिडियो उनकी पत्नी स्मृति दाहालको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो, जहाँ श्रीमान-श्रीमती दुवैलाई अभिनयमा देख्न सकिन्छ।
रोदितले यस गीतलाई केवल नयाँ सिर्जना मात्र नभई आफ्नो जीवनको एक महत्वपूर्ण मोड र कलात्मक पुनरागमनको प्रतीकका रूपमा लिएको बताए। गीत सार्वजनिक गर्दै उनले भने, “यो गीत मैले वर्षौंदेखि गाइरहेको थिएँ। यो मेरो मनसँग गासिएको छ, र आज म यसलाई तपाईंहरूसँग बाँड्न पाउँदा अत्यन्तै उत्साहित छु।”