अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्न लागेको डेब्यु फिल्म ‘सुख दुःख’मा बरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्ध भएकी छन्। निर्देशक ढुङ्गाना र अभिनेत्री शर्माबीच आइतबार कागजी सम्झौता सम्पन्न भएको हो।
मिथिलालाई अनुबन्ध गरेपछि निर्देशक नीताले भनिन्, ‘चलचित्र सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौं। सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदैछ।’
यसअघि फिल्मका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका रूपमा अनुबन्ध भइसकेका छन्। तर, अन्य प्रमुख कलाकारको नाम भने निर्माण पक्षले खुलाएको छैन। नीता ढुङ्गानाले मुख्य कलाकारको नाम केही सातापछि सार्वजनिक गर्ने बताएकी छन्।
फिल्मको निर्माण व्यवस्थापन शंकर पाण्डेको जिम्मामा रहेको छ। ‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुन लागेको यो फिल्म आगामी दसैंको फूलपातीमा प्रदर्शन गर्ने योजना छ।
फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।