चर्चित टेलिभिजन हास्य कार्यक्रम कमेडी दरबार टिमले फिल्म निर्माणमा हात हाल्ने भएको छ। टिमले सोमबार क का कि की नामक फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेको हो।
पोस्टरअनुसार फिल्ममा नेपाली फिल्म उद्योगका चर्चित कलाकारहरू गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठी मुख्य भूमिकामा देखिनेछन्। साथै, टिकटकर मिस पबी, पवन खतिवडा, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना र सीडी विजय अधिकारी लगायत कलाकारहरूको विशेष उपस्थिति रहनेछ।
फिल्मको शीर्षक, पोस्टरमा देखाइएको कलाकारको अभिव्यक्ति र निर्माण टिमको पृष्ठभूमिलाई हेर्दा यो फिल्म पूर्ण कमेडी शैलीमा तयार हुने संकेत गरिएको छ।
फिल्मको निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईँले संयुक्त रूपमा गर्नेछन्। निर्माता श्रद्धा प्रसाईँ र सुमित्रा थापाको प्रस्तुति रहने फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन्, भने कथा लेखनमा विकास अर्याल र सरोज भण्डारीको पनि सहकार्य रहनेछ। छायांकन निर्देशक (DOP) सुदीप बराल रहनेछन्, र थिम पोस्टर रोयल भीमसेनले तयार गरेका हुन्।
फिल्मको वितरण नेपालमा श्री वेंकेटेशले, अन्तर्राष्ट्रिय वितरण सेवन सिजले, र डिजिटल अधिकार ओएसआर डिजिटलले लिने तय भएको छ।
कमेडी दरबार निर्देशन गरिरहेको विक्की अग्रवालको यो पहिलो फिल्मी प्रोजेक्ट हो। निर्देशक अग्रवालका अनुसार फिल्मको छायांकन आगामी दशैंको टिकाको भोलीपल्टबाट सुरु हुने छ। यद्यपि फिल्मको बजेट र प्रदर्शन मिति हाल खुलाइएको छैन।
निर्देशक विक्की अग्रवालले फिल्म घोषणापछि भने, “आफ्नो फिल्मी करिअरको सुरुआत अग्रजहरूसँग सहकार्य गर्ने अवसर पाउनु गौरवको कुरा हो। क का कि की को यात्रामा हामीलाई विश्वास छ कि दर्शकहरूको साथ पुनः प्राप्त हुनेछ। हाम्रो टिमको उद्देश्य अब टेलिभिजन मात्र होइन, हलहरूमा पनि हाँसो ल्याउनु हो।”
