पोखराको लामाचौरस्थित अकला मन्दिरमा जेठको पहिलो साता पूजा गरेर सुरु गरिएको फिल्म ‘शिवांश : च्याप्टर–१’ को छायांकन सम्पन्न भएको छ। ३६ औं दिनको छायांकनपछि फिल्मले ‘इण्ड क्ल्याप’ मारेको निर्माता अञ्जान केसी ले जानकारी दिएका छन्।
पोखरा तथा आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्मका दृश्यदेखि गीतसम्मको सम्पूर्ण खिचाइ पूरा भइसकेको निर्माता केसीले बताए।
“पामेमा फिल्मको ‘उकुस मुकुस’ बोलको गीतको छायांकन पनि सकियो। कुनै बाधा अड्चन बिना दिनरात नभनी छायांकन सम्पन्न गर्न सफल भयौँ,” उनले भने, “अब हामी पोस्ट-प्रोडक्सनको काममा तीव्रता दिन्छौँ।”
अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा बनेको यो फिल्म सन्तोष कुमार आत्रेय को निर्देशनमा तयार भएको हो। उनी यस फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन्।
फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। यस्तै विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायत कलाकारहरूको अभिनय पनि रहेको छ।
फिल्मको कथा निर्माता अञ्जान केसी आफैंले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बू को रहेको छ। स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती संलग्न छन्।
सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी, कार्यकारी निर्माता सम्भू थापा रहेका छन्।
फिल्मका डीओपी सरद महतो हुन्। गीत लेखनमा विप्लव प्रतीक र राजनराज शिवाकोटी छन्। संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी को रहेको छ। गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारी को स्वर रहेको छ।
मिलन श्रेष्ठ ले द्वन्द्व निर्देशन, विक्रम चोहान ले कोरियोग्राफी गरेका छन्। भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर विराज खड्का र भीएफएक्स प्रोड्युसरको रूपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) संलग्न छन्।
मुख्य सहायक निर्देशक बारत लिम्बू, आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, प्रोडक्सन म्यानेजर मिलन मानन्धर, कस्ट्युम कमल मिश्र, मेकअप आर्टिस्ट तुलसा लिम्बू र पोस्टर फोटोग्राफी युवाहाङ राई ले गरेका छन्।
फिल्मको पोस्ट-प्रोडक्सनको काम चलचित्र चौतारी ले गर्नेछ भने वितरण डिजिटल सिनेमा नेपाल (DCN) ले गर्नेछ।