चर्चित टेलिभिजन सिरियल भद्रगोल निर्माण तथा निर्देशन गरेका अर्जुन घिमिरे (पाँडे)को डेब्यु निर्देशनमा बन्ने `झरीपछिको इन्द्रेणी´को आज शुभ मुहुर्त गरिएको छ।
आज बिहीबार, साउन १५ (खीर खाने दिन) को अवसरमा ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त गरिएको हो ।
गत वर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल ‘सक्किगोनि’ निर्माण तथा निर्देशन गरिरहेका थिए। फागुन १३ गते, उनको टिम जेपिटी क्रियसनले निर्माण गरेको ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो। उक्त सिनेमामा अर्जुन घिमिरे (पाँडे) मुख्य भूमिकामा देखिएका थिए। फिल्म बक्स अफिसमा सफल भएपछि उनी निर्देशनतर्फ लागेका हुन्।
‘झरीपछिको इन्द्रेणी’मा ‘सक्किगोनि’ टिमबाट प्रियाना आचार्य (मुन्नी)लाई मात्र समावेश गरिएको छ। कथाको माग अनुसार अन्य कलाकार भित्रिने सम्भावना रहेको निर्देशक पाँडेले मुहूर्तपछि मिडियासँग बताएका छन्।
यस सिनेमाबाट करिब ९ वर्षपछि कलाकार गणेश उप्रेती नेपाली रजतपटमा फर्कंदै छन्। एउटा सशक्त टिमसँग पुनरागमन गर्न पाउँदा आफू उत्साहित रहेको उनले बताए।
फिल्ममा गणेश र प्रियानासँगै निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारको अभिनय रहनेछ। अर्जुन घिमिरे (पाँडे)को अभिनय रहने नहुनेबारे भने खुलाइएको छैन।

शुभमुहूर्तसँगै सिनेमा छायांकन सुरु भइसकेको छ, जुन काठमाडौं, ललितपुर र भक्तपुरमा हुनेछ। पारिवारिक कथामा आधारित यो सिनेमा ४५ दिनमा छायांकन सक्ने लक्ष्य राखिएको छ।
फिल्ममा कुमार व्यञ्जनकार (कुमार बेन)को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहनेछ। पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन बुद्ध थापाले गर्नेछन् र लगानी सुशील कडरियाको रहनेछ।
रास्वापा नेता गणेश कार्कीले फिल्मका लागि गीत लेखेका छन् भने एक गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहनेछ। शुभमुहूर्त कार्यक्रममा बालेन शाहकी पत्नी सविना काफ्ले पनि उपस्थित थिइन् र फिल्मको सफलताको शुभकामना व्यक्त गरेकी थिइन्।