‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक, उत्कृष्ट देखिए नाजिर

0 Shares

चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ।

आफूभित्र रहेको लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरा र त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनावलाई ट्रेलरमा समेटिएको छ।

सानैदेखि महिलाको पहिरन मन पराउने छोरोलाई बाउले लाउरे बनाउन जबरजस्ती दिएको दबाबबाट कसरी ऊ बाहिर निस्किन्छ भन्ने कुरा ट्रेलरमा देखाइएको छ।

आफ्नो वास्तविक पहिचान लुकाएर बस्न नसक्ने अवस्थामा पुगेपछि घर छोड्न गरेको निर्णय, र यसबीच बुवाआमा, छिमेकी, आफन्त र साथीभाइको व्यवहार र दिइने तनावलाई ट्रेलरले प्रष्ट पारेको छ।

‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरमा सिनेमाका मुख्य पात्र नाजिर हुसेनलगायत अन्य कलाकारहरू देख्न सकिन्छ।

चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते प्रदर्शनमा आउँदैछ। समुन्द्र भट्टको निर्देशनमा बनेको यो चलचित्र लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा आधारित छ।

नाजिर हुसेनले चलचित्रमा पारालैंगिक महिला (ट्रान्सवुमन)को मुख्य भूमिका निर्वाह गरेका छन्। उनीसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले खरिद गरेको छ।

चलचित्रको सम्पूर्ण पोस्ट-प्रोडक्सनको काम विदेशमा गरिएको छ। एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइन र ब्याकग्राउन्ड म्युजिक समेतको सम्पादन हलिउड शैलीमा बाहिरै गरिएको हो।

चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार गरेका छन्। लिजाले हलिउड चलचित्र ‘ग्ल्याडिएटर २’ मा समेत स्वर दिएकी थिइन्।

यो चलचित्र नेपाली र हलिउड फिल्म प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा निर्माण गरिएको हो। चलचित्रमा आकाश बुढाथोकी र भी–भन्से जानुबोनको लगानी छ। कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सह–निर्माताको भूमिकामा छन्।

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत समावेश गरिएको छ। यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भइसकेको छ।

सम्बन्धित समाचार

सबै