‘रत्यौली’को निर्माणको घोषणा, ‘समर लभ’ निर्देशक मुस्कान ढकालले निर्देशन गर्ने

0 Shares

नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित सिनेमा ‘रत्यौली’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ।

विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरूले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यस सिनेमाको नाम राखिएको हो। त्यसैले यो सिनेमा सांस्कृतिक चेतनाले भरिएको हुने अपेक्षा गरिएको छ।

रन्जन रिजालको प्रस्तुतिमा निर्माण हुने यस सिनेमाबाट उनी सिनेमा निर्माणमा डेब्यु गर्न लागेका हुन्। २०६२/६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रिजालले सयौं भिडियोमा अभिनय गर्दै सशक्त छवि बनाएका छन्।

‘नाइ नभन्नु ३’‘समभर लभ’ जस्ता सफल सिनेमा निर्देशन गरेका मुस्कान ढकाल यस सिनेमाका निर्देशक हुन्। सम्भावना बोकेका युवा निर्देशक ढकालले यसपटक सांस्कृतिक र पारिवारिक कथामा आधारित सिनेमा निर्देशन गर्न लागेका हुन्।

नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यस सिनेमामा नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानी रहनेछ। सिनेमाको छायांकन आगामी तिहारपछिबाट सुरु हुने जनाइएको छ। साउन १६ गते, शुक्रबार, निर्माण टिमले टाइटल सार्वजनिक गरेको हो। हाल कलाकार छनोट र प्राविधिक तयारी अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ।

प्रस्तुतकर्ता रन्जन रिजाल भन्छन्, “नेपाली दर्शकहरूले नेपाली परिवेश, भाषा र मौलिक कथावस्तुमा बनेका सिनेमा बढी रुचाउँछन्। त्यसैले हामीले पनि दर्शकको चाहना अनुसार सिनेमाको विषयवस्तु र प्रस्तुति तयार गर्न थालेका हौं।”

निर्देशक मुस्कान ढकालका अनुसार हाल सिनेमाको लोकेशन र कलाकार फाइनल गर्ने काम सुरु भइसकेको छ। सिनेमाले नेपाली संस्कृति र मनोरञ्जनलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको ढकालले बताए।

सम्बन्धित समाचार

सबै