लोक सञ्चारकर्मी नेपालले गऱ्यो १४ वटा मौलिक तीजगीतको सामूहिक विमोचन

0 Shares

 राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चबाट १४ वटा मौलिक तीजगीतहरूको सामूहिक विमोचन गरिएको छ। राष्ट्रिय नाचघर जमलमा आयोजित समारोहमा ती गीतहरूको पोस्टर र भिडियो सार्वजनिक गरिएको हो।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष चन्द्रमणि गौतम, संस्थापक अध्यक्ष गोविन्द गिरी, प्रमुख अतिथि सांसद सोविता गौतम, र गायक-गायिका राजु परियार, घमेश दुलाल, बद्री पंगेनी, प्रकाश कटुवाल, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, सीता थापा, टिका पुन, मन्जु थापा लगायत अतिथिहरूको उपस्थितिमा गीतहरूको विमोचन गरिएको हो।

विमोचन भएका गीतहरूमा निम्न शीर्षक समावेश छन्:

  • भगवान भण्डारीको ‘धनमाया मनमाया’

  • विशाल महरको ‘तीज मनाउँछौं’

  • भिमसेन खतिवडाको ‘यो तीजमा भाइरल हुनी हो’

  • भिमकुमार ओझाको ‘नौगेडी’

  • कस्तुप पन्तको ‘पापी तीज भाग–२’

  • सचिन भट्टराईको ‘जय जय शिव भोला’

  • खुश्बु सुनारको ‘ए आमा’

  • यामप्रसाद निउरेको ‘चोली फाटेको’

  • गोविन्द पौडेलको ‘माछा मासु केही खाँदिन’

  • मुना सुवेदी तिवारिको ‘मेरो त देशै माइती भयो’

  • ‘माया पार्दै को चाहिँदैन रानी हार’

  • मदन ढकालको ‘माइतीको दैलो’

  • विजय अनुरागीको ‘ए मैया’

  • सन्जु न्यौपानेको ‘निलो आकाशैमा बादलु’

प्रमुख अतिथि सांसद सोविता गौतमले गीतसंगीतमा बढ्दो विकृति र विसङ्गतिप्रति चिन्ता व्यक्त गर्दै सर्जकहरूलाई मौलिकता कायम राख्न आग्रह गरिन्। उनले भनिन्, “आजकल भ्युजको पछाडि लागेर गीतहरू बनाइन्छन्, तर दीर्घकालीन सोच राखेर सर्जक स्वयंले जिम्मेवार बन्नुपर्ने समय आएको छ। सेन्सर बोर्डको कुरा धेरै कलाकारले उठाउँदै आएका छन्, तर सर्जक आफैं संवेदनशील र उत्तरदायी भए राम्रो हुन्छ।”

कार्यक्रममा वरिष्ठ लोकगायिका लक्ष्मी न्यौपानेलाई “मौलिक गायन सम्मान” प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै उनले भनिन्, “समय परिवर्तन हुन्छ, तर लोक र मौलिकतालाई परिवर्तन गर्नु हुँदैन।”

गायक राजु परियारले गीत सिर्जनामा लोकरस नछाड्न सुझाव दिँदै भने, “लोक छ र त संस्कृति छ, संस्कृति छ र त लोकगीत छन्।”

राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष गायक प्रकाश कटुवालले अस्लिलता बढ्दै गएको भन्दै सबैलाई मौलिकतामा जोड दिन आग्रह गरे। उनले भने, “मिडियाले पनि जथाभाबी गीतको प्रचार नगर्ने हो भने विकृति आपैm हराउँछ।”

गायक बद्री पंगेनी, गायिका शर्मिला गुरुङ र मन्जु थापा लगायतले पनि पछिल्ला तीजगीतहरूमा मौलिकता हराउँदै गएको धारणा व्यक्त गरे।

सभापति चन्द्रमणि गौतमले संस्थाले मौलिक स्रष्टालाई हौसला दिन १४ वटा मौलिक गीत चयन गरी सामूहिक विमोचन गरिएको जानकारी दिए। उनले भने, “समाजमा अपाच्य गीतहरू आउने क्रम बढेकोले हामी गृह मन्त्रालयसम्म पुगेका हौं। यो हाम्रो सामाजिक जिम्मेवारी हो।”

कार्यक्रम संस्थाकी महिला विभाग प्रमुख सबिता पोखरेलको संयोजनमा सम्पन्न भएको थियो। सचिव कमल सरगमले स्वागत मन्तव्य राखेका थिए।

संस्थापक अध्यक्ष गोविन्द गिरीले गृह मन्त्रालयसँगको संवाद संगीत सेन्सर बोर्ड स्थापनाको पहलस्वरूप गरिएको बताए।

सम्बन्धित समाचार

सबै