व्याख्या गर्ने कुरामा आफू कमजोर रहेको सौगात मल्लको बुझाइ छ। तर पनि आसन्न रिलिज ‘सिटामोल’ सिनेमालाई उनले व्याख्या गरे।
सौगातका अनुसार सिनेमाको नाम ‘सिटामोल’ बिम्बका रूपमा प्रयोग गरिएको हो। सिनेमा आउँदो शुक्रबार (साउन २३ गते) रिलिज हुँदैछ। आजकल उनी यसैको प्रचारप्रसारको दौडधुपमा छन्। उनी सिनेमाप्रति राम्रै आशावादी देखिन्छन्।
‘यसलाई बिम्बका रूपमा प्रयोग गरिएको हो। जुन ठाउँको कथा हामीले देखाउन लागेका छौं, त्यहाँ एउटा सिटामोल पनि मान्छेको जीवन र मृत्युको कारण हुन सक्छ। निर्देशकले यही कुरालाई बिम्बका रूपमा सिनेमा पेस गर्नुभएको जस्तो लाग्छ,’ उनले सिनेमाको व्याख्या गरे।
सिनेमाले मूलतः दर्शकसँग सामीप्यता गाँस्न सक्नुपर्छ, वा दर्शकले प्रस्तुत कथालाई स्वीकार गरेमा सिनेमाले सफलता पाउँछ भनिन्छ। त्यस हिसाबले यो सिनेमा कति बलियो छ?
यसको जिम्मा सौगातले दर्शकलाई सुम्पिए। उनका अनुसार, सिनेमाको विषय कति बलियो भन्ने कुरा दर्शकले अनुभूत गर्ने हो।
उनले भने, ‘त्यो ठाउँको परिस्थिति र भोगाइलाई जसरी बनाइएको छ, त्यो चाहिँ अनुभव गर्नुहुन्छ होला। खासमा एउटा परिवारको कुरा सिनेमामा छ, र परिवारको कुरा भएपछि सबै मानिसलाई यो हेर्न रुचिकर हुन्छ जस्तो लाग्छ। गाउँको दुःखसुख र परिस्थितिको कुरा हो। यसले एउटा पात्रमाथि घटेको घटनालाई रोचक ढंगले देखाइएको छ।’
प्रथम कथनमा दर्शकमाथि जिम्मा छोडेका सौगातले यसमा आफूलाई लागेको धारणा पनि राखे। सुटिङ भइरहँदा उनले पात्रका लागि दर्शकका लागि भावविह्वल हुने ठाउँहरू पहिचान गरेका छन्। उनलाई ती ठाउँमा दर्शकले पात्रको चोट र भोगाइहरू अनुभूत गर्ने विश्वास छ।
योसँगै दर्शकले एउटा राम्रो कथा हेर्न पाउने उनको भनाइ छ।
‘मैले हेर्दा, ग्रामीण परिवेशको एउटा राम्रो कथा हेर्न पाउनुहुन्छ जस्तो लाग्छ। जुन परिस्थितिबाट यो पात्र गुज्रिन्छ, जुन कथाव्यथा पात्रले भोग्छ, त्यो कुरा दर्शकले पनि अनुभूत गर्न सक्ने गरी बनाइएको छ।’
सिनेमाले छोरा, बाबु र आमाबीचको एउटा सम्बन्ध केलाउने काम गरेको सौगात बताउँछन्। यही सम्बन्धका उतारचढावले दर्शकलाई सिनेमासँग जोड्ने उनको भनाइ छ।
सौगातको यो भनाइ सिनेमा रिलिज पश्चात् थप प्रष्ट हुनेछ।
सिनेमामा सौगातका अलावा वेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ।
श्रीकृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्म्सको सहकार्यमा निर्माण गरेको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्।
सिमोस सुनुवारको प्रस्तुतिमा रहेको फिल्ममा भुगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता र गंगाराम श्रेष्ठ सह-निर्माता हुन्।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइन मुकेश शाह, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेका फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन्।