शुक्रबारबाट देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’ को अग्रीम टिकट बुकिङ खुला गरिएको छ। देशभरका अधिकांश मल्टिप्लेक्स हलहरूले बुकिङ सुरु गरिसकेका छन् भने केही हलमा भने अझै बुकिङ खुल्ने प्रक्रियामा छन्।
फिल्मले प्रचार सामग्रीमार्फत दर्शकमाझ राम्रो ‘हाइप’ बनाएको हुँदा मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘सिटामोल’लाई राम्रो शो दिएका छन्। दर्शकको चाप बढ्दै गएमा थप शोहरू राखिने निर्माण टिमको विश्वास छ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले काठमाडौं उपत्यकामा १५ र मोफसलमा १६ गरी कुल ३१ शो दिएको छ। त्यस्तै, दोस्रो ठूलो चेन आईएनआई सिनेमाजले आफ्ना ४ आउटलेटहरूमा ११ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बीएसआर मुभिजले २ शो, वान सिनेमाजले ६ शो, सिने डी सेफले ३ शो, र कीर्तिपुर सिनेप्लेक्सले २ शो दिएका छन्।
रञ्जना, विश्वज्योति, सिके सिनेमाज लगायत काठमाडौं र मोफसलका अन्य थुप्रै हलहरूले पनि बुकिङ खोल्ने तयारी गरिरहेका छन्। निर्माण टिमको अपेक्षा अनुसार शुक्रबारसम्ममा फिल्मले देशभर करिब १५० भन्दा बढी शो पाउनेछ।
राज बहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी को अभिनय छ।
श्रीकृष्ण र जानुकाले यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गरेका हुन्।
तुल्सी देवी फिल्म प्रा.लि. र जुनतारा फिल्मस्को सहकार्यमा बनेको फिल्मको कथा प्रदीप भट्टarai र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुतिमा बनेको फिल्ममा भूगोल कार्की र विकास राज जोशी निर्माता, अप्सरा नेपाली, अजय मल्ल, कुमार केसी कार्यकारी निर्माता, तथा गंगाराम श्रेष्ठ सह-निर्माता रहेका छन्।
फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई कलर, मुकेश शाहको साउन्ड डिजाइन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन तथा विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन व्यवस्थापन रहेको छ। छायांकन दिव्य सुवेदीले गरेका हुन्।