‘पार्वती’ लुक्समा यस्तो देखिइन् निता, रिलिज कहिले?

0 Shares

रक्षा बन्धनको अवसर पारेर निता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र ‘पार्वती’ का दुई फरक मूड भएका पोस्टर सार्वजनिक भएका छन्। नायिका तथा निर्देशक निता ढुंगाना अधिकारीको निर्देशनमा बन्ने यो फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माण पक्षले यो फिल्म माघ १ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएको छ।

सार्वजनिक पहिलो पोस्टरमा ‘पार्वती’ पहेँलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखिन्छिन्, जसले उनको जीवनमा आउने चुनौती, सोचमग्न स्वभाव र भित्री संवेदनशीलता झल्काउँछ। दोस्रो पोस्टरमा उनी गाउँले पोशाकमा हल्का मुस्कान र लजालु अन्दाजमा प्रस्तुत भएकी छन्, जसले उनको बालपनको रमाइलो, जीवनप्रतिको सहज दृष्टिकोण र केही निराशताको संकेत गर्छ।

फिल्मको कथा निता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। निर्माण टिममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगाना रहेका छन्। निर्माण पक्षका अनुसार ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो, जसमा एक साधारण पात्रको नजरबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भावहरू प्रस्तुत गरिनेछ।

फिल्म असोजदेखि छायांकनमा निस्कने तयारीमा छ। निर्माण पक्षले कथाकार र थप प्राविधिकहरू बारे केही दिनमा जानकारी दिने बताएको छ। उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएका छन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै