तीनवटा पोस्टरसहित ‘कोशोढुङ्गा’को लिरिकल कविता सार्वजनिक

0 Shares

चलचित्र ‘कोशोढुङ्गा’ निर्माण टिमले पब्लिसिटीलाई तीव्र बनाउँदै, फिल्मको लिरिकल कविता सार्वजनिक गरेको छ। उक्त कविता चलचित्रकी मुख्य कलाकार सुरक्षा पन्तले वाचन गरेकी छिन्। कवितामा प्रेम, समर्पण, विछोड, पीडा, सपना र संकल्पको भाव समेटिएको छ। लिरिकल भिडियोमा फिल्मका केही दृश्य र स्टिल फोटाहरू पनि प्रयोग भएका छन्।

कविताले क्रमशः फुट्दै गएको सपना, सम्झौतामा जिएर गुज्रिरहेको जीवन, विश्वास र पर्खाइमा रहेको परिवारको भाव चित्रण गरेको छ, जसले चलचित्रको कथालाई संकेत गर्छ। लिरिकल भिडियोमा अधिकांश मुख्य पात्रहरू देखिन्छन्, जसले उनीहरूको चरित्र र भूमिकालाई स्पष्ट बनाउँछ।

निर्देशक सरोज पौडेलले भनेका छन् कि कथाको सम्पूर्ण विवरण एक पटकमा नखोल्दै, किस्ताकिस्ता गर्दै खोल्दै जाने योजना छ।

त्यसैगरी, निर्माण टिमले तीनवटा पोस्टर पनि सार्वजनिक गरेको छ। पहिलो पोस्टरमा सुरक्षा पन्त, आर्यन सिक्देल, प्रवीण खतिवडा, मन्जिल कुमार, नीति शाह, ऋचा शर्मा र दिनेश काफ्ले देखिएका छन्। दोस्रोमा प्रवीण खतिवडा, दिनेश काफ्ले र झकेन बिसी फिचर्ड छन् भने तेस्रोमा सुरक्षा पन्त र मन्जिल कुमारको लुक्स प्रस्तुत गरिएको छ।

केही दिनअघि सार्वजनिक गरिएको प्रेमिल गीत ‘भंगेरा भगेरी’ लाई पनि दर्शकले मन पराएका छन्। यसअघि ‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीत टिकटकमा निकै हिट भइसकेको छ।

सरोज पौडेल निर्देशित ‘कोशोढुङ्गा’ भदौ १२ गते रिलिज हुँदैछ। ‘पूर्ण बहादुरको सारंगी’ निर्देशकको यो नयाँ फिल्म ठूलो प्रतिक्षामा छ।

नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्यमा बन्न लागेको यस फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटा लगायत कलाकारहरूले अभिनय गरेका छन्।

फिल्म निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् भने कार्यकारी निर्माता दिनेश खड्का छन्। बाबु श्रेष्ठले छायांकन गरेका छन् भने नकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत रहेको छ। कास्टिङ निर्देशक सुवलमणि सापकोटा हुन्।

‘कोशोढुङ्गा’ नेपालसहित ४२ भन्दा बढी देशहरूमा एकसाथ रिलिज हुँदैछ। प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा यसको वितरण गर्नेछ। नेपाली सिनेमाको इतिहासमा पहिलोपटक यसरी ४२ देशमा एउटै समयमा प्रदर्शन हुनु एक नयाँ उपलब्धि मानिएको छ।

निर्माण टिमले अपेक्षा गरेको छ कि ‘कोशोढुङ्गा’ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याउनेछ।

सम्बन्धित समाचार

सबै