पूर्व सभामुख दमननाथ ढुंगानाको निधन

0 Shares

पूर्व सभामुख दमननाथ ढुंगानाको निधन भएको छ। फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको जानकारी उनका भान्जा सुरज भट्टराईले दिएका हुन्।

अस्पतालमा कलेजो सम्बन्धी समस्याको उपचार गरिरहेको समयमा उनको निधन भएको हो। दमननाथ ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुखको पदमा कार्यरत थिए र उनी एक वरिष्ठ अधिवक्तासमेत थिए।

उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजका अगुवाको पहिचान पनि बनाएका छन्।

सन् १९७१ (२०२८) मा नेपाल बार एसोसिएसनको महासचिव बनेका दमननाथ ढुंगाना पत्रकारिता र शिक्षण पेशामा पनि सक्रिय थिए।

०४८ सालमा काठमाडौँबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बने। ०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि, उनी शान्ति अभियानमा सक्रिय रूपमा लागेका थिए। ढुंगाना सरकार र माओवादी बीचको शान्ति वार्ताका सहजकर्ताका रूपमा पनि परिचित थिए।

सम्बन्धित समाचार

सबै