साउनको पहिलो हप्तादेखि इलाममा छायांकन सुरु गरिएको फिल्म ‘मैझारो’ अन्तिम चरणमा पुगेको छ।
निर्देशक विल्सन विक्रम राईको निर्देशनमा निर्माण भइरहेको यो फिल्म पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने उद्देश्यले तयार भइरहेको हो।
छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थानमा गरिएको छ।
निर्देशक राईका अनुसार, दर्शकले यो फिल्मबाट फरक स्वाद र अनुभूति पाउनेछन्। कथा र पटकथा पनि उनले स्वयं लेखेका हुन्।
मौलिक प्रेमकथामा आधारित यस फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ।
गायनमा राजेश पायल राई, झुमा लिम्बू, मेलिना राई र अस्मिता अधिकारी लगायतका स्वर समावेश छन्।
सौरभ लामाले छायांकन गरेको फिल्मको वितरण आरआर फिल्मले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।
फिल्मको रिलिजमिति भने हालसम्म तय गरिएको छैन ।