प्रचार–प्रसारमा जुट्यो ‘रिमै’, भदौ २० मा हुँदैछ रिलिज

0 Shares

आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’को व्यापक प्रचार–प्रसारमा निर्माण टिम जुटिरहेको छ।

गत शनिबार राजधानीमा आयोजित ३१औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न स्थानमा सम्पन्न र्‍यालीमा ‘रिमै’ टिमको सक्रिय सहभागिता रहेको थियो।

आदिवासी जनजातिको पहिचान, संस्कृति र अधिकारको संरक्षणका लागि आयोजित कार्यक्रममा विभिन्न संघ–संस्था, कलाकार, सांस्कृतिक टोली र सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको थियो। रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्‍यालीमा ‘रिमै’ टिमले आफ्नो उपस्थितिलाई विशेष बनाएको थियो।

कलाकार, निर्माता तथा निर्देशकलगायतको टोली आदिवासी समुदायको मौलिक पहिचान र संस्कृति जगेर्ना गर्ने सन्देशसहित सहभागी भएको थियो। टिमका सदस्य र आदिवासी समुदायका अभियानकर्ताले हातमा ब्यानर, प्लेकार्ड र सिनेमाको नाम अंकित पोस्टर बोकेर परम्परागत धुनमा नाचगान गर्दै सहभागीलाई फिल्मप्रति आकर्षित पारे।

सिनेमाका निर्देशक खिलबहादुर गुरुङले विश्व आदिवासी दिवसलाई केवल उत्सव मात्र नभई अधिकार, समानता र सांस्कृतिक सम्मानका लागि संघर्षको प्रतीकका रूपमा लिएको बताए। उनले ‘रिमै’मार्फत आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई दर्शकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

टिमका अनुसार, विश्व आदिवासी दिवसमा गरिएको सहभागिताले कलाकार तथा सिनेमाकर्मी सामाजिक र सांस्कृतिक मुद्दाप्रति सचेत र प्रतिबद्ध रहेको सन्देश दिएको छ। सहभागी दर्शक र समर्थकहरूले पनि ‘रिमै’ टिमको पहिचानमूलक उपस्थितिको प्रशंसा गर्दै फिल्म हेर्ने उत्साह व्यक्त गरेका छन्।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको ‘रिमै’मा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङ, बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय रहेको छ।

उपेन्द्र सुब्बाको लेखनमा तयार भएको यस फिल्मको छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका हुन्। कार्यकारी निर्माता वीरबल घले रहेका छन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता हुन्।

सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डी गुरुङ सम्पादकका रूपमा रहेका छन्।

सम्बन्धित समाचार

सबै