अभिनेता सुवासले अमेरिकामा बनाए सर्ट फिल्म ‘फ्रेनीया’

0 Shares

अभिनेता तथा निर्माता सुवास थापाको मुख्य भूमिका रहेको सर्ट फिल्म ‘फ्रेनीया’ को टिजर सार्वजनिक गरिएको छ। ‘कोही मेरो’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘सरि ल’, ‘तथास्तु’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्मका अभिनेता सुवासले यो फिल्म अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलहरुमा देखाउने उद्देश्यले निर्माण गरेको बताएका छन्।

अमेरिकामा करिब एक दशक बस्दै आएका सुवास त्यहाँ पनि निरन्तर अभिनयमा सक्रिय छन्। उनले त्यहाँ ‘जिन्दगानी’, ‘तिमी आफ्नो’, ‘कुल्चिहिड्छन् फूललाई’ लगायतका म्युजिक भिडियो तथा केही सर्ट फिल्म र सिरिजमा अभिनय गरिसकेका छन्।

‘फ्रेनीया’ एक चित्रकारको मनोवैज्ञानिक संघर्ष र सिर्जनालाई विषय बनाउँदै निर्माण गरिएको सर्ट फिल्म हो, जसको अवधि जम्मा २० मिनेट छ।

सुवास स्वयं निर्देशक रहेको यस सर्ट फिल्मको निर्माता सुवास थापा, सुप्रिम बास्कोटा, नरेन्द्र साउद, हेमन्त न्यौपाने र बेजान फरामार्जी हुन् भने सुवर्ण थापा र नारायण पुरी कार्यकारी निर्माता हुन्।

फिल्मको छायांकन बेजान फरामार्जीले गरेका हुन् र यो पेगासस इन्टरटेन्मेन्टले निर्माण गरेको हो। सर्ट फिल्ममा सुवास नै मुख्य भूमिकामा छन्।

‘बिर्खेलाई चिन्छस्’ निर्माण गरेका सुवासले अर्को वर्ष नयाँ नेपाली फिचर फिल्म निर्माण गर्ने योजना बनाएका छन्।

सम्बन्धित समाचार

सबै