दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘माइतीघर’को प्रचार–प्रसार आक्रामक रूपमा अघि बढिरहेको छ।
फिल्मका पोस्टर देशभरका हलहरूमा ठूलो आकारमा राखिएका छन्। देशका विभिन्न स्थानमा होर्डिङबोर्डहरू पनि टाँगिएका छन्। फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै पनि कमी नगर्ने घोषणा गरिसकेका छन्।
यसैबीच, यो फिल्मको शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समूहलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिएको छ।
भदौको पहिलो सातामा सार्वजनिक हुने गीतमा आधारित ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाएर ओएसआर डिजिटलको इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ। ती भिडियोहरू ओएसआरको युट्युब, फेसबुक र टिकटक एकाउन्टमार्फत सार्वजनिक गरिनेछन्।
सार्वजनिक भएका भिडियोमध्ये सर्वाधिक भ्युज पाउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई छनोट गरेर ५ लाख रुपैयाँ नगद पुरस्कार दिइने, फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले बताएका छन्।
‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा भिडियो बनाएर भदौ २० गतेसम्म पठाइसक्नुपर्नेछ। यो गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर रहेको छ।
निर्माण पक्षले असोज १२ गते उत्कृष्ट भिडियो निर्माण गर्ने व्यक्ति वा समूहको नाम घोषणा गर्दै पुरस्कार प्रदान गर्ने जनाएको छ।
मिलन तामाङको निर्देशनमा बनेको यस फिल्ममा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारको अभिनय छ।
चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको डिओपी, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्व. जयदेवको संगीत, अष्ट महर्जनको एक्सन यस फिल्ममा रहेको छ।
रविन शेरचन र धिरज तामाङको लगानीमा बनेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।