नेपाली समाज स्वभावतः अन्तरमुखी छ — मनमा लागेको कुरा भित्रभित्रै दबाएर राख्छ तर खुला रूपमा व्यक्त गर्दैन। पितृसत्तात्मक सोच हावी भएको समाजमा महिलाहरू दबिएर र पिल्सिएर बस्नुपर्ने अवस्था छ।
महिलाले आफ्नो पीडा सजिलै व्यक्त गर्न नसक्ने यस्तो समाजमा तेस्रोलिंगीको अवस्था अझ कठिन हुन्छ। तेस्रोलिंगीहरूलाई आफ्नो पहिचान लुकाएर बस्नुपर्ने बाध्यता छ, जसका कारण धेरैजसोले नारकीय जीवन बिताइरहेका छन्।
घर–परिवार र समाजको डर, साथै बहिष्कृत हुने त्रासका कारण तेस्रोलिंगीहरू आफ्नो वास्तविक लिंगीय पहिचान भित्रै दबाएर बाँचिरहेका छन्। यस्तै अवस्थाको केही झलक चलचित्र गुन्यु चोलो : द ड्रेस को ट्रेलरमा देख्न सकिन्छ।
ट्रेलरमा एक छोरोको महिला–प्रकृति देखाइन्छ। तर उसको बुबा–आमा, साथी, आफन्त र छिमेकीहरूले उसलाई हेयभावले हेर्छन्। उसलाई हातमा चुरा, आँखामा गाजल र सारी–चोली लगाएर बाँच्ने चाहना छ। तर, बुबाले छोरालाई लाउरे बनाउन चाहँदै हरेक दिन यातना दिन्छन्।
यो कथा देखाएको ट्रेलर अहिले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ, जसले निर्माण पक्षलाई उत्साहित बनाएको छ। निर्देशक समुद्र भट्ट भन्छिन्, “हामीले अपेक्षा गरेअनुसार सिनेमा बनाएका थियौं, र ट्रेलरको प्रतिक्रियाले त्यसको छनक दिइरहेको छ। यदि चलचित्रमा पनि ट्रेलरजस्तै प्रतिक्रिया र माया पायौं भने हामी सफल हुनेछौं।”
उनका अनुसार, यो फिल्ममार्फत् नेपालमा दबिएका र आवाज बाहिर ल्याउन नसक्ने समुदायको कथा टिमले बोलेको छ।
मुख्य अभिनेता नाजिर हुसेन पनि फिल्मप्रति उच्च अपेक्षा राखिरहेका छन्। उनका अनुसार, ट्रेलर र गीतले अपेक्षा पूरा गर्दै गइरहेको छ। दशकअघि होस्टेल बाट आफ्नो पहिचान पाएका नाजिर भन्छन्, “अब गुन्यु चोलो : द ड्रेस को ट्रेलरले मलाई नयाँ चरित्रमार्फत दर्शकमाझ चिनाउनेछ।”
भदौ १३ गते रिलिज हुन लागेको गुन्यु चोलो : द ड्रेस समुद्र भट्टको निर्देशनमा बनेको हो। यसमा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन्।
नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारी पनि प्रमुख भूमिकामा छन्।
नेपालको पहिलो पूर्णरूपको ट्रान्स–स्टोरीमा आधारित यस फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार अमेरिकाको बफेलो एट्लेले खरिद गरेको छ। सम्पूर्ण पोस्ट–प्रोडक्सन हलिउड शैलीमा बाहिरै गरिएको हो, जसमा एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्म समावेश छ।
फिल्ममा हलिउडकी गायिका लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीले तयार गरेका छन्। लिजाले यसअघि Gladiator–2 मा पनि स्वर दिएकी थिइन्।
यो फिल्म नेपाली र हलिउड प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा बनेको हो। आकाश बुढाथोकी र भि–भन्से जानुबोन लगानीकर्ता हुन्। कार्यकारी निर्मातामा जेफ्री जे वेन र स्टिभ जोन्स्टन छन् भने अनुपम श्रेष्ठ सह–निर्माता हुन्।
आलोक शुक्लाले खिचेको फिल्ममा लेखु सहयात्रीको गीत रहेको छ। यो फिल्म अमेरिकाको प्रतिष्ठित Tashkent Film Market मा छनोट भएको थियो।