‘बरबरी आँसु’ गीत सार्वजनिक : नेपाली युवाको पीडा म्युजिक भिडियोमा

0 Shares

 बफिन्स ९८ समूहले ‘बरबरी आँसु’ बोलको मार्मिक गीत सार्वजनिक गरेको छ। कवि विप्लव प्रतीकका शब्दबाट सुरु भएको गीतले हजारौँ नेपाली युवाको कारुणिक कथालाई समेटेको छ। गीतको सुरुवात छ –

“एउटा कलिलो केटोको कथा हो यो,
केही गर्ने अठोट लिएको त्यस केटोलाई,
देशले सबै इन्तिजाम मिलायो र परदेश लखेट्यो।”

संगीत भिडियोले रोजगारीका लागि बिदेसिएका नेपाली युवाले भोगेको पीडा र त्यसको भयावह परिणामलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। गरिबी, अशिक्षा र बेरोजगारीका कारण आफ्नो साना सपना पूरा गर्न, परिवार पाल्न र सुनौलो भविष्यको खोजीमा परदेश जान बाध्य युवाहरूको यात्रा केवल अवसरको खोजी मात्र नभई आँसु, पसिना र कहिलेकाहीँ रगतले लेखिएको दुःखद कहानी पनि बनेको छ।

देशभित्रको भ्रष्टाचारले उनीहरूलाई आफ्नै भूमिमा बस्न नसक्ने अवस्थामा पुर्‍याएको छ। यसैले उनीहरू मायालु आँगन, आमा-बुबाको काख र परिवारको साथ छोडेर अनिश्चित भविष्यतर्फ लाग्छन्। हरेक वर्ष हजारौँ नेपाली युवा रोजगारीका क्रममा विदेशमा ज्यान गुमाउँछन् र पार्थिव शरीर रातो बाकसमा फर्किन्छ।

गीतले त्यही रातो बाकसको कथा प्रस्तुत गर्दछ, जहाँ आमाले धन कमाउन गएको छोराको निर्जीव शरीर फर्कँदा भोग्नुपरेको अपार पीडालाई समेटिएको छ। आफ्ना छोराको लास हेर्दै भक्कानिएर रोएकी आमाको वेदनाले हरेक दर्शकको मन छोएको छ।

साढे दुई दशकदेखि देशभक्तिपूर्ण गीत संगीतका लागि परिचित बफिन्स ९८ समूहले गीतको निर्माण गरेको हो। गीतमा सञ्जीव गुरुङको स्वर छ। गीतको लेखन, भिडियो निर्देशन र सम्पादन जीवन भट्टराई ‘भाइ’ले गरेका छन्। छायाङ्कन विक्रम श्रेष्ठले गरेका हुन् भने तारा शर्मा र रमेश गौतमले अभिनय गरेका छन्।

सम्बन्धित समाचार

सबै