‘बलिदान’को प्रतीक्षित टिजर सार्वजनिक, कस्तो छ समिरको एक्सन?

0 Shares

नेपाली फिल्म उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको फिल्म ‘बलिदान’ को टिजर सार्वजनिक भएको छ। सन्तोष सेनको निर्देशनमा बनेको यस फिल्मको टिजरले केही सेकेन्डमै दर्शकको मनमा क्रोध, देशभक्ति र न्यायको ज्वाला प्रज्वलित गराएको छ।

यस वर्षको बडादसैँको फूलपातीका दिन प्रदर्शनमा आउने फिल्मको टिजरको सुरुवातमा देशको एक हिस्सा शत्रुहरूको निशानामा परेको र उनीहरूलाई रोक्न असम्भव भएको उद्घोष सुनिन्छ। त्यहीबेला पृष्ठभूमिमा अभिनेता सौगात मल्ल मसाल बोकेर दृढ अडानका साथ उभिएका देखिन्छन्। त्यसपछि अभिनेता हेमन्त बुढाथोकीको आवाज गुन्जिन्छ, जहाँ उनले कालीमाताको चरणमा रगत अर्पण गर्दै बिताएको समय र त्यो बलिदानको अभिनय पूरा भएको भाव व्यक्त गर्छन्। दृश्यमा बुढाथोकी राजसी पोशाकमा देखिन्छन् भने अर्पण थापा सशक्त राजनेताको भूमिकामा प्रस्तुत छन्।

अभिनेत्री ऋचा शर्माको संवाद टिजरको भावनात्मक केन्द्र बनेको छ— “जब ती निर्दोषका घाँटी रेटिन्छन्, र ती राक्षसहरूले तिमीलाई हाँसी उडाउँछन्, तिमी किन मौन बस्छौ? के यो धर्तीमा अब त्यस्तो युगपुरुष जन्मिँदैन, जसले ती राक्षसहरूको घाँटी रेटोस्?” यो संवाद कालीमाताको विशाल मूर्तिअघि बोलिएको हो, जहाँ जंगलमा बसोबास गर्ने आदिवासीहरूको दृश्य देखिन्छ, जसमा निर्देशक सेन स्वयं आदिवासी पात्रको रूपमा देखिन्छन्।

अभिनेता समीर भट्टको प्रवेशसँगै टिजरको तानाबाना अझ सशक्त बन्छ। उनलाई ‘एक्सन किङ’को उपाधिसहित प्रस्तुत गरिएको छ, जहाँ उनले दमदार एक्सन दृश्यहरू देखाएका छन्। उनका संवाद— “यो आमा न त लाचार छ, न त यो आमाको कोख खाली छ। यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ” —सहितको दृश्यमा उनले प्रतिपक्षीलाई प्रहार गर्ने झलक टिजरको मुख्य आकर्षण बनेको छ।

टिजरको अन्त्यमा अन्य कलाकारहरूको छोटो झलकसहित समीरको ठुलो भालासँगको एक्सन दृश्य देखाइएको छ। टिजर सार्वजनिक गर्दै निर्देशक सेनले ‘बलिदान’ केवल फिल्म नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताए। उनका शब्दमा— “तीन वर्षको रगत पसिना, माटोको सुगन्ध र किनारिएका आवाजको पीडाबाट जन्मिएको ‘बलिदान’ अब केवल फिल्म होइन, यो न्यायको विस्फोट हो।”

यसअघि अभिनेता समीर भट्टको जन्मदिनमा सार्वजनिक गरिएको प्रि-टिजरले देशभक्तिपूर्ण संवाद र दमदार एक्सनका कारण नेपालसहित दर्जनभन्दा बढी मुलुकमा युट्युब ट्रेन्डिङमा स्थान पाएको थियो। प्रचार अभियानलाई नयाँ उचाइमा पुर्‍याउँदै निर्माताले ‘बलिदान ब्यानर’ अभियान सञ्चालन गरेका छन्, जसअन्तर्गत देशभर विशाल ब्यानर टाँगिएका छन्।

‘आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको यस फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

सम्बन्धित समाचार

सबै