फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को सुरुमा राखिएको नाम ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ थियो। तर केही समयअघि निर्माणपक्षले नाम परिवर्तन गरी ‘बाहुन’को ठाउँमा ‘मान्छे’ राख्यो। हिन्दु धर्मसँग सम्बन्धित केही संस्था र व्यक्तिबाट अनावश्यक चासो र दबाब आएपछि यस्तो परिवर्तन गरिएको निर्माणपक्षले स्पष्ट पारेको हो।
यद्यपि, यो फिल्म धार्मिक नभएको निर्देशक हिमाल न्यौपानेले बताए। उनका अनुसार, विषय र प्रसंगका कारण नाममा ‘जनै’ शब्द आएको मात्र हो, तर फिल्मलाई धार्मिक ठान्ने आंशका गरिएको छ।
“हाम्रो फिल्म धार्मिक होइन, यो सामाजिक कथा हो। तर, अनावश्यक विवादमा पर्नु आवश्यक छैन भन्ने सोचमा हामीले नाम परिवर्तन गरेका हौँ,” निर्देशक न्यौपानेले भने।
उनका अनुसार चाहेको भए पुरानै नाम राखेर फिल्म बनाउन सकिन्थ्यो। सर्जकले आफूले चाहेको विषय र शीर्षकमा काम गर्न सक्ने अधिकार रहेको उनको भनाइ छ। “कसैले पनि कुनै पनि विषयमा फिल्म बनाउन रोक्न सक्दैन,” उनले थपे।
सर्जकको अधिकारमा हस्तक्षेप गर्ने प्रयास भइरहेको भन्दै उनले यसमा सरकार सजग हुनुपर्नेमा जोड दिए।
फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदैछ। यसमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायत कलाकारको अभिनय रहेको छ।
पेपरक्लिप ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिम्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डि सी र जेम्स महाराजन रहेका छन्।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा नवीन गुरुङ डीओपी तथा कृष्ण परियार सिनेमेटोग्राफर रहेका छन्। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। मुख्य सहायक निर्देशक दिनेशबहादुर राउत, सहायक निर्देशकहरू तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी रहेका छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।
फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस ले गर्नेछ।
अलटाइम ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आएको यस वर्षको पहिलो फिल्म यही हो।