नेपालमा लगातार ५१ दिनसम्म प्रदर्शनमा रहको नेपाली फिल्म ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुँदैछ।
सशान कँडेलको निर्देशनमा बनेको यो फिल्म आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित भारतका ५० भन्दा बढी हलमा एकैसाथ रिलिज हुने भएको हो।
भारतमा यसको वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गर्नेछन्। नेपालमा असाधारण रूपमा सफल भएको यस फिल्मलाई भारतीय गोर्खा समुदायको बाक्लो उपस्थितिका कारण सिक्किम–दार्जिलिङ क्षेत्रमा उच्च माग रहेको बताइएको छ।
यस फिल्ममा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, आशिष पुरुषलगायत कलाकारको अभिनय रहेको छ। क्याम्पस जीवनका उतार–चढाव, प्रेम, मित्रता र सङ्घर्षलाई मुख्य विषय बनाइएको यस फिल्मले युवापुस्तामाझ विशेष लोकप्रियता कमाएको छ।
फिल्मका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा हुन्। निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल र कुन्दन गुप्ता रहेका छन्। कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्युसर कोसिस राज क्षेत्री हुन्।