‘माग्ने’ हैसियतको मान्छे अचानक राजासरह धन–औकातमा पुगेपछि के हुन्छ ? उसले प्राप्त धनलाई कसरी परिचालन गर्छ भन्ने कथा बोकेको फिल्म ‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुँदैछ ।
फिल्मको केन्द्रिय भूमिकामा ‘माग्ने बुढा’ नामले चिनिएका केदार घिमिरे छन् । उनी आजको दिनमा लिने पारिश्रमिकको हिसाबमा सबैभन्दा ठूलो योगदान दिने पात्र पनि यही ‘माग्ने बुढा’ हो । यही लोकप्रियतालाई क्यास गरेर घिमिरेले पहिलोपटक नेपाली सिनेमाको ठूलो पर्दामा आफूलाई वृहतरुपमा प्रस्तुत गर्दैछन् ।
बहुप्रचारित ५१ लाखको पारिश्रमिक र मिस पबि विवाद का कारण चर्चामा रहेको यस फिल्मले केदार घिमिरेको वक्सअफिस हैसियत र क्षमताको ठूलो परिक्षण गर्ने देखिएको छ । यही सेरोफेरोमा घिमिरेसँग गरिएको संक्षिप्त कुराकानीः
‘माग्ने राजा’लाई कसरी व्याख्या गर्नुहुन्छ ?
– यो सामान्य नेपाली परिवारमा जन्मिने मान्छेको प्रतिनिधि पात्र हो । सामान्य नागरिकले आफूलाई यो समाजको सभ्रान्त भएको देख्न चाहन्छ, त्यस्तै चाहनालाई बोकेको कथा हो ।
कस्तो कथा सुनेर फिल्म खेल्न राजी हुनुभयो ?
– कथा सुन्दा नै राम्रो लाग्यो तर फिल्म बनिसक्दा अझ राम्रो भएको छ । कारण, हामीले विभिन्न सिनमा इम्प्रोभाइज गर्यौं । त्यसले गर्दा कथा अझ प्रखर बन्यो ।
फरक भूमिकामा कसैले प्रयोग गर्न चाहेन भन्नुहुन्थ्यो, यो फिल्म पनि ‘माग्ने बुढा’कै अवतार हो ?
– नाम ‘माग्ने’ भए पनि यसमा मेरो भेषभूषा, स्टाइल र प्रस्तुति अघिल्लो माग्ने बुढाभन्दा धेरै फरक छ । फरकपन दर्शकले देख्छन् ।
फिल्ममा रहेको ‘माग्ने’ पात्रको मनोविज्ञान के हो ?
– विस्तारमा भन्दा कथा खुलिहाल्छ । तर छोटकरीमा भन्नुपर्दा यसको मनोविज्ञान पैसा र देशको अर्थतन्त्रसँग जोडिएको छ । ट्रेलरमा पनि एउटा संवाद छ – ‘सर्वसाधारण बनेर जिउन धेरै गाह्रो रहेछ भान्जा’ । यसैमा पैसाको कुरा पनि छ, सर्वसाधारणको पीडा पनि छ ।
फिल्मले कस्तो प्रदर्शन गर्ने अनुमान गर्नुभएको छ ?
– म आशावादी छु । ट्रेलर रिलिज भएपछि पाएको चासोले मलाई विश्वस्त बनाएको छ । फिल्म चल्छ भन्ने विश्वास छ ।