सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्नका लागि नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन् । मुम्बईबाट आइतबार राति नेपाल आएकी निरुताले पत्रकारहरूसँग कुरा गर्दै आफू अत्यन्त उत्साहित रहेको बताइन् ।
निरुताले भनिन्– “अब म कतै जान्नँ । म निरन्तर नेपाली फिल्ममै काम गर्छु । बीचमा मलाई कोरोना भएको कारण फिल्ममा काम गर्न पाइनँ । अब भने म कतै जान्नँ ।”
निरुताले आफू नेपाली फिल्मभन्दा टाढा बस्न नसक्ने स्पष्ट पारिन् । बीचमा केही फिल्मबाट अफर आए पनि विभिन्न कारण नमिलेर काम गर्न पाएकी थिइनन् ।
फिल्ममा निरुताको भूमिका के हो भन्ने कुरा भने खुलाइएको छैन । निर्देशक सविर श्रेष्ठले पनि निरुताको भूमिकाबारे अहिले नै खुलाउन नमिल्ने बताए । निरुतालाई फिल्ममा लिनुको कारणबारे सविर भन्छन्– “मैले सहायक निर्देशकको रूपमा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ । तर निर्देशक भएपछि एकसाथ काम गर्ने मौका मिलेको थिएन । कहिलेकाहीँ कुनै भूमिकामा विशेष कलाकारको मात्र आवश्यकता हुन्छ । यो फिल्ममा पनि निरुता दिदी नै चाहिने भूमिका छ । त्यसैले उहाँलाई हामीले आग्रह गरेका हौं ।”
यो फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्कालगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । नायिका रेखा थापा र निरुता सिंहले फिल्म ‘दुई पल’ पछि पहिलोपटक एउटै पर्दा शेयर गर्न लागेका हुन् ।
नायिका सिंहले फिल्म **‘दाल भात तरकारी’**पछि नयाँ फिल्ममा काम गरेकी थिइनन् । अब भने उनी आजबाट छायांकन सुरु हुन लागेको फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्न तयारी अवस्थामा छिन् ।