चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ को गीत ‘लड्की गोरी’ ले रिलिज भएको दुई दिनमै १० लाख भ्युज पाएको छ । शुक्रबार सार्वजनिक भएको गीतले छोटो समयमै १० लाखभन्दा बढी भ्युज बटुल्दै लोकप्रियता हासिल गरेको हो ।
भोजपुरी लवजमा तयार गरिएको यो गीत डान्सिङ प्याटर्नमा बनेको छ । माजाले नाच्न मिल्ने भएकाले दर्शकले मन पराइरहेका छन् । गीत विशेषगरी मेला, महोत्सव तथा उत्सवमा युवा जमातले जोशसाथ नाच्न सकिने खालको छ ।
हालका दिनमा डान्सिङ गीतहरू ट्रेन्डमा रहेका बेला आएको यो गीतलाई दर्शकले खुलेर स्वागत गरेका छन् । विशेषगरी तराई क्षेत्रमा यसको लोकप्रियता अझ बढ्ने अपेक्षा गरिएको छ । नेपाली शब्दमा आधारित भए पनि भोजपुरी लवजमा बनेकाले यसले तराई–मधेशमा दीर्घकालीन प्रभाव पार्ने सम्भावना उच्च छ ।
गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको रहेको छ भने संगीत संयोजन विषम आचार्यले गरेका हुन् । गीतमा आइटम डान्स जुना सुन्दासको छ र कोरियोग्राफी रोहन विश्वकर्माले गरेका छन् ।
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ आउँदो भदौ २७ गते रिलिज हुँदैछ भने यसको हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वर्ल्डवाइड रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
चलचित्रले पैसाको प्रलोभनमा परेर चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षलाई मुख्य कथावस्तु बनाएको छ ।
पोस्ट–प्रोडक्सनमा रहेको यस चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, र सुष्मा निरौला प्रमुख भूमिकामा छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो चलचित्रलाई सुशान्त गौतमले निर्देशन गरेका छन्, जुन उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल, र सन्देश श्रेष्ठ रहेका छन् ।
यस चलचित्रमा जीवन शाक्य लाइन प्रोड्युसर, मनोज श्रेष्ठ भिएफएक्स, सुप्रिम पराजुली रंग सम्योजन, मदान घिमिरे सम्पादन, र शरद महतो डीओपी रहेका छन् ।