
यही शुक्रबारबाट रिलिज हुने ‘अग्निदहन’ सिनेमाका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन आफुहरुले सिनेमा बनाएको बताए ।
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले सिनेमा बनाएका हौं । बोक्सीका नाममा अझै पनि महिलामाथि अत्याचार भइरहेका घटना बेला बेलामा सार्वजनिक भइरहन्छन् । हामी सिनेमामार्फत बोक्सी हुँदैन र महिलालाई बोक्सीका नाममा अत्याचार गरिनुहुन्न भन्ने सन्देश दिन चाहन्छौं’, उनले भने ।
सिनेमाका बारेमा सोमबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रियामा उनले यस्तो बताएका हुन्।
सिनेमा साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेको छ।
यसैगरी सिनेमाकी कलाकार प्रमिला तुलाचनले आफूले ‘बोक्सी’ को आरोप लागेकी माइली दमिनीको चरित्र निर्वाह गरेको जानकारी दिँदै त्यो चरित्र अध्ययन गर्न सुकुम्बासी बस्ती पुगेको खुलाइन् ।
‘मैले निर्वाह गरेको चरित्र निकै चुनौतीपूर्ण थियो । समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुव्र्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरेकी छु’, उनले भनिन् ।
अर्की कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामीझाँक्रीले दिने यातना साँच्चै असह्य हुने गरेको बताइन् ।
‘सिनेमामा मलाई धामीले फलाम डामेको दृश्य छ । त्यो दृश्यको सुटिङ गरेको भोलिपल्टसम्म मेरो शरीरमा घाउ थियो । बोक्सीको आरोप लागेका महिलालाई साँच्चै धामीले त्यसरी डाम्दा उनीहरुलाई झन कति पिडा भयो होला’, उनले भनिन् ।
निर्देशक घनश्याम लामिछानेले आफ्नो सिनेमा व्यावसायिक हिसाबले नबनाएको बताए ।
‘मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन सिनेमा निर्माण गरेका हौं’, उनले भने ।
सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।
सिनेमामा लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
यो सिनेमा भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र सिनेमाको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो ।
नेपालको निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले समेत हेरिसकेको यो सिनेमालाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।