बल्छी धुर्बेको डेब्यू निर्माण ‘गोबर गणेश’को शुभमुहूर्त , को-को छन् कलाकार ?

0 Shares

काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्र गोबर गणेशको शुभमुहूर्त गरिएको छ।

शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो। क्यामेरा पूजा गर्दै चलचित्रको शट लिएर शुभमुहूर्तमा केदार घिमिरे ‘माग्ने बुढा’ले नरिवल फोडेर र कलाकार रवि गिरीले क्ल्याप हानेर शुभारम्भ गरिएको हो।

चलचित्रको छायांकन आजैबाट सुरु भएको छ। काठमाडौंबाट सुरु भएको चलचित्रको छायांकन पोखरा लगायतका स्थानमा पनि हुनेछ।

निर्देशक श्रेष्ठले करिब ३५ दिनको छायांकन सेड्युल रहेको जानकारी दिए।

“आजबाट हामीले चलचित्रको छायांकन सुरु गरेका छौँ। हाम्रो कला र सीप अनुसार राम्रो काम गर्ने प्रयास गर्दै जान्छौँ,” निर्देशक श्रेष्ठले भने, “हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो, त्यस्तै माया र साथ ठूलो पर्दामा पनि दर्शकले दिइरहनेछ भन्ने हाम्रो विश्वास छ।”

मरिचमान श्रेष्ठको निर्देशनमा तयार भइरहेको गोबर गणेश माघ १ गते रिलिज हुनेछ। यो उनको पहिलो फिचर फिल्म हो। मेरी बास्सै बाट दर्शकमाझ परिचित भएका उनले पछि टेलिचलचित्र निर्देशनमा पनि हात हालेका थिए। उनका टेलिचलचित्र हल्का रमाइलोजुठे दर्शकमाझ निकै लोकप्रिय भएका छन्।

बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकामा छिन्। अन्य कलाकारमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) लगायतका कलाकारको अभिनय रहेको छ।

टारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहेको यो चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो। नेपालमा चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

सम्बन्धित समाचार

सबै