
अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रीम प्रोजेक्ट आचार्य को छायांकनका लागि भारत प्रस्थान गरेका छन्। मंगलबार, निखिल र उनको निर्माण टोली काठमाडौंबाट पश्चिम बंगालको लागि प्रस्थान गरेका हुन्।
तश्विरमा निखिल उप्रेतीसँगै निर्मात्री तथा अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापती, छायांकार मनु बिके, र मुख्य सहायक निर्देशक सयनम अधिकारी पनि देखिएका छन्। आचार्य फिल्मको छायांकन भदौ ६ गते (अगस्ट २२) शुक्रबारबाट भारतको प्रसिद्ध क्षेत्र डुअर्सबाट सुरु हुनेछ।
डुअर्सबाट शुरू हुने छायांकनको पहिलो चरणपछि, बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा पनि फिल्मको छायांकन गरिनेछ। निखिल उप्रेतीका अनुसार, “दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्डमा छायांकन हुनेछ, र तेस्रो चरणमा नेपालमा खिचिनेछ। हामी ६० दिनभित्र फिल्मको सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य राखेका छौं।”
फिल्ममा निखिल उप्रेती प्रमुख अभिनेता रहनेछन्। अन्य कलाकारमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, र विशाल पहारीको अभिनय रहने बताइएको छ। यस फिल्ममा बलिउड र दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेका केही चर्चित कलाकारहरूको समेत अभिनय रहने चर्चा छ। यस विषयमा निखिलले भने, “आचार्यसँग जोडिएका केही सरप्राइज बाँकी छन्, र समयक्रममा सबै कुरा बाहिर आउँदै जानेछन्।”
निखिल उप्रेतीले आचार्यलाई एक विश्वस्तरीय एक्सन फिल्मको रूपमा प्रस्तुत गरेका छन्। यस फिल्मबाट अभिनेत्री सञ्चिता लुइँटेल कोरियोग्राफीमा डेब्यू गर्न जा रहे छन्। नेपाली र हिन्दी भर्सनको एक गीतमा उनले कोरियोग्राफी गर्ने तय भएको छ।
यस अघि २०१५ मा रिलिज भएको फिल्म भैरवबाट निर्देशकीय यात्रा सुरू गरेका निखिल उप्रेतीको निर्देशनमा बन्ने यो दोस्रो फिल्म हुनेछ। निखिल नेपाली फिल्म उद्योगमा एक्सन स्टारको नामले चर्चित छन्।