झुमा लिम्बुको ‘रैथाने घुमफिर कन्सर्ट २०८२’सँग ‘जारी २’को सहकार्य

0 Shares

गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले आगामी असोज ३ गते प्रदर्शनमा आउने फिल्म ‘जारी २’को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना हुने भएको छ । जसको सुरुवात आगामी भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुने भएको हो । जहाँ प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जारी २’को टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गर्नेछ ।

रैथाने घुमफिरमा झुमाले नेपालका विभिन्न १० शहरमा प्रस्तुति दिनेछिन् । जसमा उनको व्याण्डको सोलो प्रस्तुति रहनेछ । त्यसका अतिरिक्त जुन ठाउँमा कन्सर्टको आयोजना हुनेछ, त्यहाँको स्थानीय कला, संस्कृति र गीत–संगीतलाई विशेष प्राथमिकतामा राखिने गायिका लिम्बुले बताइन् ।

यो सांगीतिक यात्रामार्फत सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ । विभिन्न शहर र गाउँमा पुगेर स्थानीय लोकसंगीत हाक्पारे, पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनीलगायत संगीत र नृत्यलाई केन्द्रमा राखेर सांगीतिक प्रस्तुति हुनेछ ।

लोकसंगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिबिम्ब भएको गायिका लिम्बुले बताइन् । ‘यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्याउने आशा लिएका छौं । ‘रैथाने घुमफिर’ले गाउँ र शहरको संगीत र संस्कृतिलाई जोड्न एउटा पुलको रूपमा उभिनेछ,’ उनले भनिन् ।

यो रैथाने घुमफिर यस वर्ष नेपालमै आयोजना हुनेछ । अर्को वर्ष यसलाई विदेशमा समेत लैजाने योजना गायिका झुमा लिम्बुको छ । हरेक प्रस्तुतिमा स्थानीय कलाकार, वाद्यवादन र संस्कृतिको सम्मान गर्दै विविधता प्रदर्शन गरिने बताइएको छ । ‘रैथाने घुमफिर’का अन्य कार्यक्रम विस्तारै सार्वजनिक गरिने बताइएको छ ।

सम्बन्धित समाचार

सबै