
छायाँछवि क्रियशनको आयोजनामा हरेक वर्ष गरिने छायाँछवि तीज म्युजिक अवार्डको १२ औं संस्करण सम्पन्न भएको छ । लोकसंस्कृति तथा संगीतको पर्वका रूपमा चिनिने एवं महिलाहरूको महान् चाड हरितालिका तीजका अवसरमा प्रकाशित गीतहरुलाई लिएर आयोजना गरिने यस अवार्ड समारोहमा १८ अवार्ड, ६ सम्मान र १ पुरस्कार प्रदान गरिएको छ ।
सुकेधारास्थित लेभिज गार्डेनमा सम्पन्न कार्यक्रममा गत वर्ष स्थापना गरिएको छायाँछवि दिपाशा स्मृति पुरस्कार यस वर्ष मोडल कलाकार सञ्चिता शाहिलाई प्रदान गरिएको छ । रु ११,००० सहितको यो पुरस्कार गत वर्ष मोडल कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।
यस्तै, तीजका अवसरमा आयोजना हुँदै आएको कार्यक्रममा ६ जना महिला कलाकारलाई सम्मान गरिएको थियो । गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारीका घिमिरे, गायिका अञ्जु श्रेष्ठ, सौन्दर्यकर्मी संगीता राना मगर, अप्सना नेवा हायुलाई तीज म्युजिक अवार्डमा सम्मान गरिएको हो । साथै, पश्चिम अमेरिका निवासी गायिका सुशीला बस्नेत तिमिल्सिनालाई डायस्पोरा सम्मान प्रदान गरिएको छ । सम्मान चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका बन्दना, अवार्ड अध्यक्ष शान्तिप्रिया, अवार्ड संयोजक कृष्ण आचार्य रोशनीले गरेका थिए ।
अवार्ड समारोहमा केही नृत्य तथा गायन प्रस्तुति पनि समावेश गरिएको थियो । आर्या कोइराला र डिम्पल नगरकोटीले नृत्य प्रस्तुत गरेका थिए भने गायिका अञ्जु श्रेष्ठ र रेखा शाहले गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका बन्दना, अतिथि साहित्यकार राधेश्याम नेपाली, संस्कृतिकर्मी आर.सी. कोइराला, गायिका मञ्जु थापा, गीतकार कस्तुप पन्तसहित चलचित्र तथा संगीत क्षेत्रका कलाकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा छायाँछविका अध्यक्ष शान्तिप्रियाले अवार्डको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालक दीपज्योति थापा थिइन् ।
अवार्ड विजेताहरू :
उत्कृष्ट तीज गीत एरेन्जर: विपिन आचार्य – आइपुग्यो तीज
उत्कृष्ट तीज गीत ध्वनी मिश्रण: मनोज परियार – तीजका गीत कस्ता
उत्कृष्ट तीज गीत छायाँकार: मुकेश हुमागाई – बारुले कम्मरको ठुम्का
उत्कृष्ट तीज गीत सम्पादक: सुजन कोइराला – चोली फाटेको
उत्कृष्ट तीज गीत मोडल (पुरुष): भुवन के. पोखरेल – माईत बरिलै
उत्कृष्ट तीज गीत मोडल (महिला): स्मारिका ढकाल – काली पसम कि – २
उत्कृष्ट तीज गीत नृत्य निर्देशक: श्रीजन बराल ऋषि – कट्टि कट्टि
उत्कृष्ट तीज गीत भिडियो निर्देशक: जेरी भण्डारी – काली पसम कि – २
उत्कृष्ट तीज गीत शब्द: जनक रावल – तीज आयो साथी संगी
उत्कृष्ट मौलिक तीज गीत शब्द: याम प्रसाद निउरे – चोली फाटेको
उत्कृष्ट तीज गीत लय: भावना आचार्य – सोच सोच
उत्कृष्ट मौलिक तीज गीत लय: योगेश काजी – मलाई हेरी हेरी
उत्कृष्ट तीज दोहोरी गीत गायक: रामचन्द्र काफ्ले – सोच सोच
उत्कृष्ट तीज दोहोरी गीत गायिका: सुजाता के.सी – सासुको तीज
उत्कृष्ट तीज गीत युगल गायन: नम्रता तामाङ / बबी नेम्वाङ लिम्बु / निलम रोक्का कार्की – किन्दिने हो कल्ले
उत्कृष्ट तीज गीत गायिका: जुनु गौतम – आइपुग्यो तीज
उत्कृष्ट मौलिक तीज गीत गायिका: रेखा शाह – मलाई क्या माया
इनकरेजमेन्ट अवार्ड (गायिका): पुजन काफ्ले – छड्के तिलहरी