कार्यशालामा ‘मालती मंगले’ जारी, कहिले जान्छ फ्लोरमा

0 Shares

भाद्र दोस्रो हप्तादेखि छायाङ्कनमा जान तयारी भइरहेको नेपाली फिल्म ‘मालती मंगले’को कार्यशाला काठमाडौंमा भइरहेको छ।

फिल्मका पटकथा तथा संवाद लेखक संयोग गुरागाईंको संयोजनमा वर्कसप सञ्चालन भइरहेको हो। वर्कसपमा अभिनेता विजय बराल, अभिनेत्री वर्षा राउत, सुवर्ण थापा, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश जङ्ग ठकुरी, रिजन परियार, सागर भट्टराईलगायत कलाकारहरूको सहभागिता रहेको छ।

वर्कसपको क्रममा अभिनेता विजय बरालले फिल्मले नेपाली समाजको यथार्थ जीवनका कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। उनले भने, “पात्रलाई अझ नजिकबाट बुझ्न यो वर्कसपले ठूलो मद्दत पुर्‍याएको छ। दर्शकले आफ्नै कथा पर्दामा देखेझैँ अनुभूति गर्नेछन्।” त्यस्तै, अभिनेत्री वर्षा राउतले वर्कसपलाई आफूलाई पात्रमा ढाल्ने अवसरका रूपमा लिएको बताइन्। उनले भनिन्, “यो फिल्म पारिवारिक भावनासँग जोडिएको छ। वर्कसपमार्फत पात्रको गहिराइमा पुग्ने अवसर पाइरहेकी छु।”

‘मालती मंगले’लाई प्रकु पाण्डेयले निर्देशन गर्नेछन्। कथा पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद गुरागाईंले तयार पारेका हुन्। फिल्मको छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका विभिन्न भूभागमा हुने कार्यकारी निर्माता सागर ज्ञवालीले जानकारी दिएका छन्।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा र युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने यस फिल्मका निर्माता लोकप्रिय गायक रामकृष्ण ढकाल हुन्। सह–निर्मातामा रविन श्रेष्ठ र बाबु सुवेदी छन् भने छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ्ग संयोजक कृष्ण भण्डारी, गीतकार राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र सङ्गीतकार हरि लम्साल, राजनराज सिवाकोटी, उज्ज्वल सागर रहेका छन्।

निर्देशक पाण्डेयका अनुसार ‘मालती मंगले’ पारिवारिक प्रेमकथामा आधारित फिल्म हुनेछ।

सम्बन्धित समाचार

सबै