‘पूर्ण बहादुरको सारङ्गी’का कारण ‘कोशेढुङ्गा’का लागि कति दबाबमा छन् निर्देशक सरोज?

0 Shares

वक्सअफिसमा आउने सिरसिरे हावामै आनन्दित हुन पाए हुन्थ्यो भनेर सोचिरहेको ‘पूर्ण बहादुरको सारङ्गी’ले कमाइ हावाहुरीझैँ गरिदियो। रिलिजका सुरुवाती दिनमा चरम निराशा दिएको फिल्म हेरेर जब दर्शकको आँखाबाट आँसु झर्‍यो र सो कुरा सामाजिक सञ्जालमा जसै भाइरल भयो, तब कमाइको हावाहुरीले त्यो निराशालाई कुन गर्तमा लगेर समाधिस्त गर्‍यो होला, निर्देशक सरोज पौडेललाई थाहा छैन।


जे होस्, फिल्मले पौडेलको सिने-संघर्षलाई आज एउटा परिचय गुथाइदिएको छ। उनी नेपाली सिनेनगरीमा ‘मार्क’ भएका छन्। उनै पौडेल भदौ १२ गते अर्को फिल्म लिएर दर्शकमाझ आउँदैछन्। पौडेलका अनुसार यसपटक पनि उनी आफू भन्नै पर्ने र भन्न चाहेको कथा लिएर दर्शकमाझ आएका छन्।

यही मान्यता ‘पूर्ण बहादुरको सारङ्गी’का बेला पनि उनीसँग थियो। आफ्नो यो नयाँ फिल्म व्यापारिक अंकगणितभन्दा अन्य कसीमा अब्बल ठहरिए उनी ज्यादा सन्तुष्ट हुने उनको भनाइ छ। यतिबेला उनी ‘ब्याक अफ द हेड’ ‘पूर्ण बहादुरको सारङ्गी’को सफलताको दबाब महशुस गरिरहेका छन्। यसै सन्दर्भमा हामीले उनीसँग गरेको कुराकानीको अंश यसप्रकार छ:

आफ्नो नयाँ फिल्म ‘कोशेढुङ्गा’लाई कसरी व्याख्या गर्नुहुन्छ?
– यो एउटा नराम्रो समयबाट राम्रो समयमा पुग्दै गर्दाको ‘मिराकल पोइन्ट’ हो। नेपाली साहित्यिक परिभाषामा ‘कोशेढुङ्गा’ भनेको राम्रो समयको सुरुवात हो। त्यही बुझाउने प्रयास यसमा गरेको छु।

विषयवस्तुका हिसाबले यो कत्तिको नयाँ विषय हो नेपाली फिल्मका लागि?
– यसले प्रस्तुत गर्ने घटनाक्रम नेपाली फिल्मले सिनेम्याटिक शैलीमा, मलाई जानकारी भएसम्म, ल्याएको छैन। हामीले समाचारमा सुनिरहेका घटनाहरुलाई लिएर फिल्म बनाएको छु। त्यो हिसाबले यो नेपाली फिल्मका लागि पहिलो भएको मेरो विश्वास छ।

स्क्रिप्ट तयार भएपछि जुन प्रकारको दृश्यभाषाको कल्पनामा यो कथा बुन्नुभएको थियो, सोही अनुसार कति बनाउन सकिएको जस्तो लाग्छ?
– बनाएको छु, तर कतै कुनै प्रकारका त्रुटि छैनन् भन्न सक्दिनँ। कमजोरीहरु रहन सक्छन्, जसको मूल्याङ्कन फिल्म हेरेपछि तपाईंहरूले पनि गर्नुहुनेछ। तर भन्न खोजेको कथा नेपाली दर्शकले प्रष्टसँग बुझ्नेगरी भन्न सफल भएको छु।

तपाईंले यो विश्वास व्यक्त गरिरहँदा यो फिल्म दर्शकका लागि कति रुचिकर होला?
– रुचिकर हुन्छ किनभने यो प्रकारको विषय नेपालमा फिल्मका लागि आफैंमा नयाँ घटना हो। त्यसैले फिल्म हेरिसकेपछि दर्शकलाई ‘हो है, हाम्रो देशको प्रमुख समस्या भनेकै यही हो’ भन्ने भान गराउँछ। बेरोजगार युवालाई राष्ट्रले गर्ने उपेक्षामा आधारित भएकाले पनि रुचिकर हुन्छ।

त्यसो हो भने तपाईंको फिल्मका ३ वटा सबल पक्ष के हुन् भन्ने प्रश्न आयो भने जवाफ के दिनुहुन्छ?
– पहिलो, यसले उठाएको घटना नेपाली फिल्मका लागि नयाँ हो। दोस्रो, यसको प्रस्तुति। यसले गम्भीर कुरालाई सरल तरिकाले भन्छ। तेस्रो, दर्शकको अपेक्षा अनुसारको फिल्म हो यो।

‘पूर्ण बहादुरको सारङ्गी’को सफलताको दबाब नेपथ्यमा अनुभव गरिरहनुभएको छ कि छैन?
– छ। यो मैले व्यक्तिगत रूपमा भन्दा पनि आमदर्शक र तमाम नेपाली फिल्मप्रेमीले जुन आशा यो फिल्मबाट गरिरहनुभएको छ, त्यो कुराको स्वाभाविक दबाबको महसुस गरिरहेको छु। तर योसँगै, जसले पनि फिल्म हेर्नुहुन्छ, उहाँहरू ‘कन्भिन्स’ हुनुहुन्छ भन्ने मेरो विश्वास छ।

यो फिल्म असफल हुनु भनेको के हो?
– सफलता–असफलता हाम्रो हातमा हुँदैन। हामी त कर्म गर्ने मानिस हौं। हरेक कुरालाई सफलतासँग मात्र पनि जोडिनुहुँदैन। दर्शकले मन पराउनु भयो र विगतको फिल्मभन्दा तल नै बस्नुपर्‍यो भने कन्टेन्टप्रति प्राप्त हुने समर्थनलाई नै सफलता मानेर आगामी दिनमा नयाँ तरिकाले काम गर्ने प्रयास गर्छु।

सम्बन्धित समाचार

सबै