फेसबुक लगायतका सामाजिक सञ्जालमा नक्कली आईडी बनाएर ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
घटनामा प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ५ स्थायी घर भई हाल काठमाण्डौंको चन्द्रागिरी नगरपालिका वडा नं. ७, हाईभिजन कोलोनीमा बस्दै आएका रुद्र बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाइएको छ।
अनुसन्धान अनुसार, उनले नक्कली प्रोफाइलमार्फत केटी साथीहरू बनाई आफू फ्रान्स वा सिंगापुरमा कार्यरत लाहुरे भएको दाबी गर्थे र आफूलाई मन पराउने, बिहे गरेर सिंगापुर लैजाने जस्ता प्रलोभन देखाएर महिलाहरूलाई फसाउने गर्थे।
सिंगापुर लैजानका लागि कागजात बनाउन रकम आवश्यक पर्छ भन्दै पीडितहरूसँग पैसा असुल्ने गर्थे।
उक्त व्यक्ति काठमाण्डौं र चितवनका विभिन्न स्थानमा आफ्नो हुलिया परिवर्तन गरेर पीडितहरूसँग भेट्न जाँदा नगद र चेकको रूपमा रु. १६,८३,६०० (सोह्र लाख त्रियासी हजार छ सय) र विभिन्न व्यक्तिहरूका नाममा भएका २६ वटा ई-सेवा वालेटहरू मार्फत पटक-पटक गरी रु. १०,९९,६०० (दश लाख नव्बे हजार छ सय) गरी कुल रु. २७,८३,२०० (सत्ताईस लाख त्रियासी हजार दुई सय) ठगी गरेको पुष्टि भएको छ।
पक्राउ व्यक्तिको विवरण:
नामथर: रुद्र बहादुर गुरुङ
स्थायी ठेगाना: आँबुखैरेनी गाउँपालिका, वडा नं. ५, तनहुँ
हालको ठेगाना: चन्द्रागिरी नगरपालिका, वडा नं. ७, काठमाण्डौं